१६ आश्विन २०७८, शनिबार
  • अमृत क्षेत्री

हाम्रो हितमा बोलोस्
हाम्रो दु:खमा थपथपाउन आओस्
हाम्रो घाउमा मलम लगाओस्
हामीले नजानेका कुरा सिकाओस्
हाम्रा नानीहरु झैं सुकोमल बनोस्
भनी पठाएको ऊ
सिंहदरबारमा सिंह बनेर गर्जन्छ
र, हामीलाई नै तर्साउँछ

ऊ कहिलेकाहीँ हाम्रो पखेरातिर आउँछ
र हाम्रो जीविका चलेको नदीलाई
कता हो कता लैजान्छु भन्छ
आदिम संस्कृति बोकेर पुजेको नदीलाई
गिद्दे आँखा लगाउँछ
आफ्नो सुनौलो सभ्यता बोकेको युगलाई
अचानक भत्काउन खोज्छ

ऊ बेलाबेला एउटा-एउटा निहुँ पारेर
अचेल हुरीझैं आउँछ
बच्चालाई तर्साएझैं
हाम्रो अनुहारमा भय छोडेर
आफ्नो अनुहार हँसिलो बनाउँछ

उसलाई हाम्रो मुस्कानले पोल्छ
जब हाम्रा खुसीहरुमा उत्सव आउँछन्
तब ऊ कालोनिलो हुन्छ
ऊ हाम्रो पौरखले जोगाएको
यो नदी थुन्छु भन्छ
हामीले पुजेको थलो बेच्न खोज्छ
हामीले हिँडेको बाटो भत्काउन खोज्छ

म, हामी र तपाईंहरुले रोजेको
ए शासक !
जब जनताको अनुहारमा कालो बादल मडारिन्छ नि
तब तेरो अन्त्य निश्चित छ ।

-०-

 


अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृंखलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ हरेक शनिबार राख्ने गरेका छाैँ । अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV