
काठमाडौं । काठमाडौं जिल्लाभरीका ११ मध्ये १० वटा नगरपालिकामा आज नेपाली काँग्रेको अधिवेशन हुँदैछ । जसमा आज दक्षिणकाली नगरपालिकामा भने काँग्रेसको अधिवेशन हुने छैन ।
दक्षिणकाली नगरपालिकाको वडा – २ मा अधिवेशन हुन बाँकी रहेकाले उक्त नगरमा महाधिवेशनपछि मात्रै गरिने भएको हो ।
काठमाडौं स्वभावैले काँग्रेसको शीर्ष तथा लोकप्रिय नेताहरुको क्षेत्रसमेत रहेकाले यहाँका नगरअधिवेशनलाई चासोका साथ हेरिएको छ ।
काँग्रेसका शीर्ष तहमै विभिन्न गुट तथा उपगुटको प्रतिस्पर्धाको रुपमा रहेको अधिवेशनलाई पनि नेताहरुको आन्तरिक शक्ति संघर्षको रुपमा लिइएको छ ।
बिशेषगरी काँग्रेसको संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवा र संस्थापन इतरको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
जसमा नगरपालिका नेतृत्वका लागि धेरैजसो नगरपालिकामा शेरबहादुर देउवा र कृष्ण सिटौलाको समूहको समिकरण बनेको छ । त्यस्तै त्यसको बिपक्षमा प्रकाशमान सिंह र गगन थापाको समूह बनेको छ ।
प्रकाशमान सिंह वरिष्ठ नेता पौडेल पक्षका हुन् । लामो समयदेखि सिटौला पक्षमा रहेका युवा नेता गगनले यो पालि पौडेल पक्षसँग भेटघाट छलफल गरेर दुरी नजिक बनाएका छन् ।
त्यसको फलस्वरुप उनले काठमाडौंको नगरमा पौडेल समूहलाई सहयोग गर्ने आस्वसन दिएका छन् । र, पौडेल पक्षलाई नेता थापाले आफूहरुलाई सहयोग गर्ने आशा पनि रहेको छ ।
यसरी हेर्दा काठमाडौं जिल्लाका सबैजसो नगरमा सभापति देउवा, कृष्णप्रसाद सिटौला र उता वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहका साथै गगन थापाबीच कडा टक्कर हुने देखिएको छ ।
उता काठमाडौं जिल्लाकै चन्द्रागिरी नगरपालिकामा भने सर्वसम्मतले नेतृत्व चयन भएको छ । वर्तमान नगरसभापति घनश्याम गिरीलाई नै नेतृत्वमा राख्न काँग्रेसका सबै पक्ष तयार भएपछि सर्वसम्मत भएको हो ।