१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा २०७४ मा सरकार गठन भएसँगै पुष्पकमल दाहाल र माधवकुमार नेपालले कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबार (आज) विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

त्यस्तै उनले एकतालाई असन्तुलित बनाउन माधव नेपाललगायतका नेताहरू दाहालसँग लागेको पनि राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । यस अगाडि अध्यक्ष ओलीले एमाले–माओवादी एकीकरण नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक परिघटना रहेको बताएका छन् ।

संसदको प्रतिकूलताका कारण आफू नेतृत्वको सरकार कमजोर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टी भित्रैबाट सरकारलाई कमजोर बनाउने, सरकारका कामको प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने खेल भएको बताए ।

त्यस्तै ओलीले आफ्नो प्रतिवेदनमा दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि आफ्नो निवासलाई ‘हेडक्वाटर’ बनाएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV