१५ आश्विन २०७८, शुक्रबार

एजेन्सी । उत्तर कोरियाले एक साताभित्रै दोस्रो मिसाइल परीक्षण गरेको छ । बिहीबार मात्रै उत्तर कोरियाले नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको हो ।

उसले पछिल्लो एक महिनामा मात्रै चौथोपटक मिसाइल परीक्षण गरिसकेको छ । मङ्गलबार मात्रै उसले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको थियो । यो मिसाइल परीक्षणमा परमाणु क्षमता पनि हुन सक्ने बताइएको छ ।

उत्तर कोरियाले सम्भावित अमेरिकी हमलाबाट आफूलाई रक्षा गर्न निरन्तर क्षेप्यास्त्र विकास आवश्यक भएको बताउने गरेको छ । हालैका क्षेप्यास्त्र परीक्षणहरूले उसले अस्त्र विकास कार्यक्रम नियमित राखेको देखाउँछ ।

उत्तर कोरियाले पछिल्लो समय गरेको मिसाइल परीक्षणबारे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कडा प्रतिक्रिया दिएका छन् । उनले यी परीक्षणले अस्थिरता र असुरक्षाको आशंका बढाएको बताएका छन् ।

तर उत्तर कोरियाले भने अमेरिका र दक्षिण कोरियाबाट आफूलाई खतरा रहेको बताउँदै आत्मसुरक्षाका लागि मिसाइल कार्यक्रम जारी राखेको बताएको छ ।

कस्ता कस्ता क्षेप्यास्त्र छन् ?

सन् २०१७ भरि उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रहरूले उनको सैन्य प्रविधिमा भएको विकास देखाएका थिए । ह्वासङ्–८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजनाअन्तर्गत तयार गरिएका ‘महत्त्वपूर्ण पाँच हतियार’ प्रणालीमध्ये एक भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन २०१७ यता विकास भएका ह्वासाङ—१२ क्षेप्यास्त्र चाहिँ ४,५०० किलोमिटर पर पुग्ने सोचिएको थियो जसले ग्वाम टापुमा रहेका अमेरिकी सैन्य आधार क्षेत्रसम्म मार हान्न सक्थ्यो । पछि ह्वासाङ—१४ अझ शक्तिशाली भएको देखियो जसले ८,००० किलोमिटर मार हान्ने र अधिकतम १०,००० किलोमिटरसम्म पुग्ने बताइएको थियो । त्यो उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्र मानिएको छ, जुन अमेरिकाको न्यूयोर्कसम्म पुग्न सक्छ ।

बिबिसीका अनुसार, ह्वासाङ–१५ परीक्षण गर्दा ४,५०० किलोमिटर माथि पुग्ने बताइयो। यो दूरी भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा १० गुणा माथि हो ।

जमिनमा प्रहार गर्दा यो १३,००० किलोमिटरसम्म पर पुग्न सक्छ जसको अर्थ अमेरिकाको कुनै पनि स्थानसम्म पुग्न सक्ने क्षमता हो ।

सन् २०२० को अक्टोबरमा उत्तर कोरियाले बेनामी बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गर्‍यो । परीक्षण नगरिएको सो क्षेप्यास्त्रले एकभन्दा बढी पारमाणविक अस्त्र बोक्न सक्ने बताइएको छ। यसको ठूलो आकारले विज्ञहरूलाई समेत चकित पारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV