१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । दैनिक सरदर पाँच जना महिला बलात्कारको शिकारमा पर्छन यो देशमा । यो बाहिर आएको तथ्यांक हो । तर डर, त्रास, धम्की र प्रभावका कारण यस्ता धेरै घटनाहरु गुपचुप पारिन्छन् । समाज हुर्कनु भएन छोरीचेलीहरु ।

कुदृष्टि लगाउने पापीहरुको कमि छैन यो समाजमा । त्यो चाहे घर भित्रैबाट होस् या समाजबाट । नेपालमा बढ्दो महिला हिंसा र बलात्कार जस्तो जघन्य अपराधको घटना न्यूनीकरण नभइ बढ्दो छ । समाजले खेल्ने भूमिका, परिवार भित्रैबाट हुने असहयोग, प्रहरी प्रशासनको कमजोरी र सरोकार राख्ने नियामक निकायको उदासिनताको कारण बलात्कारको शिकार बनेका किशोरीहरुले पीडामाथि पीडा भोग्नु पर्ने अवस्था विद्यमान छ ।

बलात्कृत महिला न्याय खोज्न भौतारिन्छन तर बलात्कार गर्ने पुरुष कानूनको फन्दामा कहिल्यै पर्दैन । बलात्कृत भएपछि परिवार भित्र भोग्नु पर्ने पीडा र समाजले हेर्ने हेयको दृष्टिका कारण धेरै महिलाहरु डिप्रेसनमा समेत पुग्छन ।

यही अवस्थामा पुगेकी छिन् एक युवती जो नातामा आफ्नै काका पर्नेबाट बलात्कृत भइन । जीवन मरणको दोसाँधमा पुगेकी उनी न्यायका सबै ढोकाहरु बन्द भएको महसुस गरेपछि न्यूज २४ को शरणमा आइपुगेकी छिन् ।

आफ्नो पीडा यसरी पोख्ने यी किशोरी खोटाङ जिल्लाकी (परिवर्तित नाम) कोमल हुन् । उनको यो पीडाको गहिराई जान्न बुझ्न ८ वर्ष पछाडि फर्कनुपर्ने हुन्छ । घटना भएको करिब ८ वर्ष वित्नै लाग्दा पनि न्याय का छट्पटाईरहेकी कोमल हाम्रो कार्यलयमा आईन् । र, आफ्नो पीडाको बृतान्त बताईन् ।

मदिराले धुत बनेका काका अपराधी बनेर निस्केपछि….

कोमलका अनुसार घटना २०७१ सालको हो । जतिबेला उनी १७ वर्षकी थिईन् । त्यतिबेला उनी भक्तपुरस्थित बालकोटमा आफ्नी सानीआमाको घरमा बस्दै आएकी थिईन् ।

सानीआमाले उनलाई घरको हेरचाह गरिदिन भनेपछि सानीआमाको घर उनकै रखबारीमा थियो । तर, त्यो घरमा बसेको १७ औँ दिनमा सानीआमाको देवरले अर्थात डिल्लीराज आर्चायले उनलाई बलात्कार नै गरे । जाडरक्सी सेवन गरी रातको १२ बजेको समयमा उनीमाथि बलात्कार भएको यी पीडित किशोरीको आरोप छ ।

सानीआमाका तीन छोरोछोरी र उनका देवर डिल्लीराज पनि सोही घरमासँगै बसिरहेका थिए । त्यो बखत उनले घरमा सानीआमाका देवर र उनका छोराछोरीका लागि खाना पकाउँने, खुवाउँने र घरको सबै रेखदेख गर्दै आएकी थिईन् । तर, संगै बसेको १७ औँ दिन कोमलमाथि नाताले आफ्नै काका पर्ने डिल्लीराजले जवरजस्ती करणी गरेको पीडित किशोरीको आरोप छ ।

बालकोटको त्यो विर्सनलायक कालो रात

रातको १२ बजिसकेको थियो । कोमल सानीआमाका छोराछारीसँगै सुतेकी थिईन् । तर, त्यही समयमा उनका काकाले उनलाई म्यासेज गर्दै आफ्नो कोठामा बोलाए । कोमलले किन बोलाएको भनेर प्रश्न गर्दा उनका काकाले त्यतिकै जिस्काउँनलाई बोलाएको भनेछन् । तर, दुर्भाग्य कोमल आफ्नै काकाको कामवासनाको शिकार भईन् । र, त्यो बेला उनी छागाँबाट खसेझै भईन् ।

त्यो रात उनलाई बलात्कार गरेर उनका काका घरको झ्यालबाट हाम फालेर भागे । यता, अचेत भएकि कोमललाई तत्काल छिमेकीहरुले अस्पतालसम्म पु¥याए । तर, जब उनी होस्मा आईन् त्यसपछि उनको जिन्दगी नै मोडियो । हासी खुसी बस्ने, रमाउँने, अनि पढाईमा समेत अब्बल कोमल यो कहाली लाग्दो घटनापछि एकाएक डिप्रेशनको शिकार नै भईन् । र, उनी यही घटनाले आफ्नो जीन्दगी नै उजाडिएको महशुस गर्छिन् अझै पनि ।

कोमल यसरी कमजोरमाथि कमजोर बन्दै गइन

यतिसम्म की बलात्कारपछि उनले गर्भपतन नै गराउँनु पर्ने अवस्था आयो । मानसिक रुपमा उनी कमजोर मात्र भईनन् उनको शरीर पनि कमजोर बन्दै गयो । र, उनी आजपनि त्यही कहाली लाग्दो घटनामात्रै सम्झिछन् । र, आफुमाथि परेको यो बज्रपातकै कारण जीवनलाई अघि बढाउँन नै कठिन भएको उनी बताउँछिन् ।

न प्रहरीले चासो देखायो न महिला आयोग नै गम्भीर बन्यो

घटनालगतै उनले प्रहरी कहाँ उजुरी पनि गरिन् । तर, बलात्कार गरेपछि फरार भएका उनका काकालाई अझैसम्म प्रहरीले पक्राउ गर्न सकेन् । उनका काका बलात्कार गरेदेखि नै फरार थिए । तर, प्रहरीले उनलाई खोजी गर्ने र कानूनी दायरामा ल्याउँन चासो नै नदिएको पीडित कोमलको आरोप छ ।

उनी न्यायका लागि राष्ट्रिय महिला आयोगमा समेत पुगिन् । तर, महिला आयोगले समेत यो घटनालाई गम्भीरताका साथ नलिएको उनको आरोप छ ।
आफुमाथि कुकृत्य गर्ने काकालाई कारवाहीको दायरामा ल्याउन नसकेसम्म आफुले चैनको सास फर्न नसक्ने उनी बताउँछिन्

परिवारको समेत साथ पाइन विचरीले

यता, आफु बलात्कारको शिकार हुदाँ पनि आफ्नो परिवारले साथ नदिएको उनी बताउँछिन् । छोरीको दुखमा साथ दिनुपर्ने बेला उल्टै बुबा आमाले घटनालाई सामान्य रुपमा लिदैँ बिर्सिदेउँ भनेकोप्रति उनको दुखेसो छ ।

प्रहरी कार्यालयबाट उजुरीको फाइल नै गायब

यता, यो घटनाको थप बास्तविकता बुझ्न हामी कोमलले उजुरी गरेको बालकोटस्थित प्रहरी प्रभागमै पुग्यौँ । तर, त्यहाँ पुग्दा उजुरीको फाईल समेत भेटिएन् । त्यतिबेला राष्ट्रिय महिला आयोगले पठाएको पत्रको समेत प्रहरीले जवाफ नफर्काएको आयोग बताउँछ । र, महिला आयोगले बलात्कारको शिकार भएकाहरुलाई न्यायका लागि पहल गर्दै आएको बताउँछ ।

यसले के देखाउँछ भने बलात्कारका घटना दिनहुँ बढेका छन् । कानुन फितलो भएकै कारण दोषीहरू कानुनी कठघरामा आउँदैनन् । कानुनी कारबाहीमा ढिलासुस्ती छ जसले गर्दा पीडितहरू झन् पीडामा छटपटाउन बाध्य छन् ।

(भिडियो)

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV