१४ आश्विन २०७८, बिहीबार

विराटनगर । अन्य समयमा चुपचाप बस्ने र चाडपर्व सुरु भएपछि गरिने बजार अनुगमनले उपभोक्ता र व्यापारी दुबैलाई अनावश्यक झंझट मात्र दिने गरेको सरोकारवालाहरुले बताएका छन् ।

विराटनगरमा बिहीबार प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको चाडवाड केन्द्रीत बजार व्यवस्थापन विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागिहरुले नियमित रुपमा बर्षै भरी बजार अनुगमन गर्न आग्रह गरेका छन् ।

सहभागीहरुले बजार अनुगमन गरेर मात्र नपुग्ने बताउदै स्वास्थ्य, शिक्षा, यातायात लगायत सबै सेवा क्षेत्रको नियमित अनुगमन गरिएमा उपभोक्ताहरु ठगिनबाट जोगिने धारणा राखेका छन् । उनीहरुले चाडबाड आएपछि अनुगमन गर्ने प्रवृत्तिले उपभोक्ता र व्यापारीमा गलत सन्देश गइरहेको धारणा राखेका थिए ।

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री लिलाबल्लभ अधिकारी, सचिव काशी प्रसाद पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरु, उद्योगी व्यापारी तथा विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सचिव पराजुलीले बजार अनुगमन, शान्ति सुरक्षा र सस्तो बजार व्यवस्थापन राज्यको दायित्व भएकाले सबैको सहयोग र सहकार्य आवश्यक भएको धारणा राख्नु भएको थियो । विराटनगरमा चाडपर्वको समयमा खोलिने सहुलियतको वजार संचालन गर्न उपभोक्ताहरुले माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV