१४ आश्विन २०७८, बिहीबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता–गठबन्धनभित्र मन्त्रालय भागबण्डाको विवाद छिटै टुंगिने बताएका छन् ।

बिहीबार शहीद प्रतिष्ठान नेपालको बाह्रौं वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आजै वा भोलिसम्ममा भागबण्डा टुगिने र मन्त्रिपरिषद् विस्तार हुने बताए ।

‘हामी अहिले गठबन्धनको सरकारमा छौँ, दुइटा मन्त्रालय समेत लिइसकेका छौँ,’ उनले भने, ‘अब केही मन्त्रालय पनि हामीले छिट्टै टुग्याउँदै छौँ, त्यो आजै वा भोलि हुनेछ ।’

साथै गठबन्धन सरकार बनेपछि न्यूनतम साझा कार्यक्रम ल्याउँदा शहीद र बेपत्ताका परिवारको पक्षमा राज्यको तर्फबाट कार्यक्रमहरु समावेश गरेको उनले बताए । सरकारले पहिलोपल्ट शहीद तथा बेपत्ताका पक्षमा कार्यक्रम ल्याएको उनको दाबी थियो ।

‘विगतमा छुटेको पक्षलाई समेटेर जनआन्दोलनका बेपत्ता योद्धाहरू तथा शहीदहरूलाई लक्षित गरी कार्यक्रम घोषणा गर्छौं,’ उनले भने, ‘मैले सरकारको नेतृत्व गरेको बेलामा पहिलो निर्णय नै त्यही गरेको थिएँ तर त्यो जालझेल गरेर राजपत्रमा प्रकाशन गर्न दिइएन ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV