१४ आश्विन २०७८, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै सहभागी नभएपछि बैठक औचित्यहीन देखिएको छ ।

बैठक सकेर बाहिरिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहदुर कार्कीले संसदमा गतिरोध कायम राखेको प्रतिपक्षी दल एमाले वार्ताबाट समेत भाग्न खोजेको बताए । आजको बैठकमा एमालेका नेताहरु उपस्थित नभए पनि संसदको गतिरोध अन्त्य गर्नुपर्ने निष्कर्षमा बैठक टुंगिएको उनको भनाइ छ ।

प्रवक्ता कार्कीले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘उहाँहरू (एमाले) संवाद र वार्ताबाट पर भाग्न खोजेको देखियो । यो मुलुकको आवश्यकता विपरीत छ ।’

यसअघि संसदको गतिरोध अन्त्यकै विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो । आज पनि प्रधानमन्त्रीले बोलाएको बैठकमा नआएको भन्दै कार्कीले भने, ‘बैठकमा बोलाउँदा बोलाउँदै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएन । तर प्रधानमन्त्री (शेरबहादुर देउवा)ले उहाँ यो बैठकमा अनुपस्थित भए पनि अर्को बैठकमा आउनुहुनेछ भन्नु भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV