१३ आश्विन २०७८, बुधबार
  • प्रेम सुनार,

गुल्मी । अर्घाखाँचीमा मंगलबार साँझ घरमा हाँसी–मजाक गर्दै घरेलु मदिरा पिइरहेका एक दम्पत्तीको त्यो हाँसी–मजाक केही बेरपछि झगडामा परिणत हुन्छ । पछि त्यही झगडा कुटपिटमा परिणत हुन्छ । त्यसपछि श्रीमानको कुटाईबाट श्रीमतिको ज्यान जान्छ ।

अधिकांश हत्या–हिंसाको कारक मदिरा नै बनिरहेको प्रहरीले बताउँदै गर्दा जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटमा ३० वर्षीया बिष्णु बिकको घरमा पनि मंगलबार साँझ त्यस्तै भयो । प्रहरीका अनुसार बिक र उनकी श्रीमति सीता बिक दुबैले मंगलबार साँझ घरमा बसेर हाँसी–मजाक गर्दै मदिरा पिउँदै थिए ।

केहि बेरपछि घरयासी झगडा सुरु भयो । अन्ततः श्रीमान बिष्णुले श्रीमतिलाई लाठीले निर्घात कुटपिट गरी ज्यान नै लिए । अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी अमरबहादुर क्षत्री भन्छन्, ‘मंगलबार साँझ दुबैले मदिरा पिएर बसेको र पछि घरयासी झगडाका क्रममा श्रीमतिलाई लाठीले प्रहार गरि हत्या गरिएको पाइएको छ । मृतकको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।’

१८ वर्षको अन्तरालमा ३ घरबार र ६ सन्तान

मृतक सीताका भाई बिष्णु बिकका अनुसार १७ वर्षको उमेरमै दिदी सीताको अर्घाखाँची कै डिभर्नामा विवाह भएको थियो । त्यहाँ तीन सन्तान जन्मेपछि श्रीमानले हेलाँह गरि वास्ता नै गर्न छाडिदिए । त्यसपछि उनी नरपानीका एक पुरुषसँग दोश्रो विवाह गरेर आइन् ।

ती पुरुषबाट पनि सीतामाथि त्यस्तै धोका भयो । उनीबाट सन्तान नजन्मिने बेलासम्म माया पाइन्, त्यसपछि घृणा र तिरस्कारको पात्र बनिन् । अन्ततः चार वर्ष अघि उनै बिष्णु बिकसँग तेश्रो बिवाह गरेर आइन् । उनले तेश्रो श्रीमानतर्फ पनि २ सन्तान जन्माएकी थिइन् ।

पहिलो विवाहदेखि पछिल्लो सन्तान जन्माउने बेलासम्म १८ वर्षको अवधिमा तीन घरबार र ६ सन्तान जन्माएकी सीता तीन वटै पुरुषबाट केवल सन्तान जन्माउने मेशिन जस्तै बनेर पीडित हुँदै आएकी माइतीजन बताउँछन् ।

शव उठाउन चन्दा उठाउँदै छिमेकीहरु

स्थानीय शिक्षक टुकबहादुर थापाका अनुसार त्यस परिवारको आर्थिक अवस्था अत्यन्तै दयानीय छ । घरमा १७ महिनाकी छोरीसहित दुई सन्तान र बृद्ध बाबु आमा छन् । श्रीमान बिष्णुले मजदुरी गरेर कमाएको पैसा जाँड रक्सीमा खर्च गर्दै आएका थिए ।
थापा भन्दै थिए, ‘अहिले हामी शव बुझ्ने तयारीमा छौं । त्यसका लागि छिमेकीहरुले चन्दा संकलन गर्दैछौं ।’ जिल्ला प्रहरी प्रमुख थापाले पनि त्यो परिवारको आर्थिक अवस्था अत्यन्तै दयानीय रहेको बताए ।

‘बाबुद्धारा आमाको हत्या घटनाले स–साना बालबालिका र घरका बृद्ध बृद्धा बाबु आमाको निकै बिचल्ली देखियो’, डिएसपी थापाले भने, ‘उनीहरुलाई सहयोगको जरुरी देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV