१३ आश्विन २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । हिंसामा परेका महिलाको मुद्दालाई छिटो र सरल रुपमा सम्बोधन गर्न राष्ट्रिय महिला आयोग क्रियाशील हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

बुधबार विराटनगरमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठक र अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी खतिवडाले महिला तथा लैंगिक हिंसा, महिला बेचबिखन र अपराधका मुद्दाहरुलाई छिटो सम्बोधन गर्न आयोगले कार्यालय विस्तारको योजना बनाएको जानकारी दिइन् ।

उनले पछिल्लो समय बढिरहेको महिलामाथि हुने हिंसा जस्ता कार्यलाई सम्बोधन गर्न राष्ट्रिय महिला आयोगले ५ वर्षे रणनीति बनाउन लागेको र सुरक्षा निकाय र कानून कार्यान्वयन गर्ने निकायहरु समन्वय र सहकार्य गरिने बताइन् ।

सदस्य खतिवडाले स्थानीय तह र विद्यालय तहसम्म पुगेर विद्यार्थीहरुलाई जानकारी गराउने उद्येश्यले विभिन्न कार्यक्रमहरु गरिसकेको बताइन् । सो कार्यक्रममा सहभागीहरुले कानूनी जटिलता र कानून कार्यान्वयनमा देखिएको ढिलाईका कारण पनि महिला हिंसा जस्ता जघन्य अपराधहरु वृद्धि भएको धारणा राखेका थिए ।

सहभागीहरुले दिएको सुझावलाई समेटेर आयोगले ५ वर्षे रणनीति योजना बनाउने सो कार्यक्रममा जानकारी दिइएको थियो । सो कार्यक्रममा प्रदेश सांसद, स्थानीय पालिकाका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, महिलासँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV