१३ आश्विन २०७८, बुधबार

काठमाडौं । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग, तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुब प्रसाद शर्माले काभ्रेपलाञ्चोकमा हालसालै निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत उक्त ६ वटा विद्यालयहरु रु १९.७ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सरकारले निर्धारण गरेको भूकम्प-प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप श्री आजाद माध्यमिक विद्यालय (बनेपा), श्री भगवती माध्यमिक विद्यालय (पाँचखाल), श्री आजाद माध्यमिक विद्यालय (पाँचखाल), श्री दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), श्री शारदा माध्यमिक विद्यालय (पनौती) र श्री खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) गरी ६ वटा विद्यालयहरुको निर्माण संपन्न गरिएको हो ।

यसले २,००० भन्दा बढी विद्यार्थीहरुले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने बताइएको छ । नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको थियो ।

उक्त विद्यालयहरु पनि सोही ओजना अन्तर्गत निर्माण भएका हुन् । यसरी लाभान्वित हुने आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं रहेका छन् । हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

कार्यक्रममा श्रीवास्तवले उक्त ६ वटा विद्यालयहरुले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तवरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको बताए । पुनर्निर्माण कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रुपमा नेपाली जनतासँग काँधमा काँध मिलाएर उभिएको उनको भनाइ छ ।

सोही क्रममा काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमि पूजन कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो ।

उक्त स्वास्थ्य चौकी पनि यसैको हिस्साको रुपमा रहेको छ । ७.५ करोड रुपैयाँमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो । यस उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब १५००० मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरु प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV