१३ आश्विन २०७८, बुधबार
  • महेश पाण्डे,

चितवन । अश्विन अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाइने जितिया पर्व थारु महिलाहरुको लागि निकै महत्वपूर्ण पर्व हो । वशेष गरी नेपालमा थारु महिलाहरूले “जितिया”लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिने गर्दछन् । अझ यो पर्वलाई जिवित पुत्र पर्वको रूपमा पनि लिने गरिन्छ ।

यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि व्रत बस्ने गर्दछन् । महिलाहरु यस पर्वमा ’निर्जला’ अर्थात् पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ’जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहि आएको छ ।

भगवान जीतमहान गोँसाईको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षका लागि जितिया पर्वमा ब्रतको परम्परा थालेको मान्यता रहिआएको छ । जितियालाई विजय अर्थात् जितका रुपमा लिदैं नवलपरासी र चितवनका महिलाहरुले तीन दिनसम्म महत्वका साथ जितिया पर्व मनाउने गर्दछन् ।

यो पर्वमा थारु महिलाहरु भगवान बिष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्ने गर्दछन् । अनि पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाउने गर्दछन् ।

भरतपुर–१७ हरैयामा बस्ने शुकमाया चौधरीले भनिन्, ‘थारु समूदायमा जितियालाई उत्तिकै महत्वका साथ लिने गरिन्छ । प्रकृतीको अर्चना पनि थारु समूदायको जितियाको एउटा महत्वपूर्ण पाटो रहेको छ । अझ बिशेष गरि थारु समूदायले जितियामा ’झ्याम्टा’ नाच नाच्ने प्रचलन पनि रहि आएको छ ।’

त्यस बाहेक पनि यस समूदायले ब्रह्मथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुने गर्दछ जसलाई ’जतसरी’ भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरुले गाउने एउटा अर्को पारम्परिक विशेष गीत पनि रहेको छ, जसलाई ’दारकाटोनी’ भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनी सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने परम्परा रहि आएको छ ।

विशेषत् तराई र अन्य स्थानलगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दू रित अनुसार आज जितियाको ब्रत बस्ने गरिन्छ । यो ब्रत खासमा कुनै धनधान्य अनि ऐश्वर्यका लागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV