१२ आश्विन २०७८, मंगलवार

चितवन । प्रहरीमा आफैँ लेखेर दिएको जाहेरीमा प्रतिवादीसँग पैसा मागेको आरोपमा प्रहरीले एक जना अधिवक्ता (वकिल)लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ठगी उद्योगमा कालिका नगरपालिका-५ पदमपुरका ५० वर्षीय रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नागरिकतासम्बन्धी विषयमा एक जनालाई प्रतिवादी बनाएको उजुरी देवकोटाले लेखेका थिए । तर, ‘तपाईँको नाममा जिल्ला प्रहरीमा जाहेरी परेको छ, उक्त जाहेरी दर्ता नगराई मुद्दा मिलाई दिन्छु’ भनेर देवकोटाले रकम मागेको दाबी प्रहरीले गरेको छ ।

‘जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाइदिन्छुु भनि रकम माग गरेपछि देवकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिसपी सूर्यबहादुर थापाले जानकारी दिए । ‘आफैँले लेखेर दिएको जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिलाई पटक-पटक फोन गरी तपाईँको नाममा जिल्ला प्रहरीमा जाहेरी परेको छ, उक्त जाहेरी दर्ता नगराई मुद्दा मिलाइदिन्छु भनि रकम माग गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो’, प्रवक्ता थापाले भने ।

देवकोटालाई १० असोजमा नियन्त्रणमा लिएर सोमबार चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV