१२ आश्विन २०७८, मंगलवार
  • युवराज आचार्य,

झापा । डिभिजन वन कार्यालय झापाले विभिन्न समयमा नियन्त्रणमा लिइएको सवारी साधन माटोमा मिल्ने अवस्थामा पुगेको छ । लामो र झन्झटिलो कानूनी प्रक्रियाका कारण करौडौं मूल्य बराबरका त्यस्ता सवारी कवाडीमा परिणत हुँदै गएको हो ।

डिभिजन वन कार्यालयले काठ चोरी, तस्करी तथा अवैध निकासीमा प्रयोग गरिएका विभिन्न समयमा नियन्त्रणमा लिएको सवारीका साधन विगत १० वर्ष अघिदेखि लिलाम विक्री हुन सकेको छैन । जसका कारण सरकारले उक्त सवारी साधानबापत प्राप्त गर्ने लाखौं राजस्व समेत गुमाएको छ ।

डिभिजन वन कार्यालय परिसरमा वर्षौं अघिबाट थन्किएको ट्रक, ट्याक्टर, पीकअप साथै अन्य सवारी साधनहरुको मूल्याङकन दैनिक ओह्रालो लाग्ने अवस्थामा छ । पक्राउ परेको समयमा उक्त सवारी नयाँ वा काम चलाउन सकिने अवस्थामा हुने भएपनि सम्बन्धित मुद्दाको फैसला हुदासम्म कवाडीमा परिणत हुने गरेको छ ।

काठसँगै पक्राउ परेका यस्ता सवारीको मूल्य पक्राउ परेको मितिमा त्यसको अवस्थाको आधारमा कायम गरिने र सोही आधारमा त्यसको लिलामका लागि मूल्य निर्धारण गर्ने कानूनी ब्यवस्था छ । तर, त्योसँग सम्बन्धित मुद्दा फैसला हुन वर्षौ लाग्ने भएकाले त्यस्ता सवारीको मूल्य तथा आयु घटेर जाने र खरिदकर्ताले नकिन्ने हुदा सवारी कवाडी बन्ने गरेको हो ।

अवैध ओसारपसारमा पक्राउ परेका सवारी मूल्याङकन समितिले सवारीसँग सम्बन्धित मुद्दा फैसला भएपछि निर्धारण गरेको मूल्यको आधारमा बिक्रिका लागि सूचना जारी गर्नुपर्ने कानूनी ब्यवस्था रहेको छ । तर, लामो र झन्झटिलो कानुनी प्रक्रियाका कारण करौडौं मूल्यबराबरका सवारी भने त्यसबेला सम्म बेकामे बन्ने गरेको छ ।

यसरी अवैध ओसारपसारमा प्रयोग भएका सवारी साधानहरु कार्यालयले नियन्त्रणमा लिएपछि समयमा नै आवश्यक कारबाही पूरा गर्ने वातावरण बनाउन सके सरकारले प्राप्त गर्ने राजश्व खेर जाने थिएन । यस सम्बन्धी सम्बन्धित निकायले चासो दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV