१२ आश्विन २०७८, मंगलवार

काठमाडौं । २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई दिइने भएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ट्विटमार्फत् २०७७ सालको पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ दिन लागिएको जानकारी दिएका हुन् ।

पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई दिइने पनि उनले जानकारी दिएका छन् । हरेक वर्ष साहित्य पुरस्कार प्रदान गर्दै प्रतिष्ठानले कला, साहित्य र प्राज्ञिक क्षेत्रका एक–एक जना व्यक्तित्वलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ ।

त्यस्तै, पद्मश्री साधना सम्मानद्वारा गायक एवं संगीतकार भक्तराज आचार्यलाई सम्मानित गरिने भएको छ । दुवै पुरस्कार/सम्मानको राशि रु तीन–तीन लाख रहेको छ ।

‘मोक्षभूमि’ उपन्यासमा लेखकले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको अध्यक्ष लामिछानेकाे भनाइ छ ।

त्यस्तै लामिछानेले भनेका छन्, ‘वि.सं. २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि गायक/संगीतकार भक्तराजको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति हो । १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन् ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV