१२ आश्विन २०७८, मंगलवार

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले सरकारले उद्यमी–व्यवसायीलाई सहजीकरण गर्न सुरु गरेको एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न त्यहाँ दक्ष जनशक्ति परिचालन गर्न र अनुगमनमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

सङ्घको प्रतिनिधि मण्डलले सोमबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल भेट गरी उक्त आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष सुनिलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधि मण्डलले घरबहाल करको दर १० बाट ५ प्रतिशत कायम गर्न तथा ड्यामेज भएका वस्तु नष्ट गरेको अनुगमन गरी प्रमाणित गर्ने छुट्टै निकायको आवश्यकतामा पनि जोड दिएको थियो ।

सीमा क्षेत्रबाट भइरहेको मदिरा चोरी पैठारीले ठूलो राजस्व गुमिरहेको र त्यसबाट कानुनी रूपमा ती वस्तुको कारोबार गरिरहेका व्यवसायीलाई अप्ठ्यरो परेको विषयमा पनि महानिर्देशक पौडेलको ध्यानाकर्षण गराइएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जवाफमा महानिर्देशक पौडेले सङ्घले उठाएका जायज विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV