११ आश्विन २०७८, सोमबार

काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारवाही गरेको भनेर सभामुखलाई पत्र पठाए पनि कारवाही नगरिएपछि एमाले सांसदहरुले निरन्तर संसद अवरुद्ध पार्दै आएका छन् ।

संसद अवरुद्ध गर्ने क्रममा यसअघि विभिन्न दृश्यहरु देखिए, संसद हलभित्र । एमाले सांसदहरु कोही मर्यादापालकको काँधमा चढ्ने, कोही टोक्ने ! यस्तै दृश्य देखिएको थियो केही दिनअघिको संसद हलमा ।

त्यसपछि पनि लगातार संसद बैठक भए । एमाले सांसदहरुले पार्टीले कारवाही गरेकाहरुलाई कारवाही वा सभामुख अग्नि सापकोटाले राजीनामा दिए संसद अवरुद्ध नगर्ने भनेका थिए । तर, दुवै माग पूरा नभएपछि एमाले सांसदहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।

सोमबार बसेको संसदको बैठक ६ मिनेट बसेर असोज १४ सम्मका लागि स्थगित भएको छ ।

तर, रोचक कुरा– संसद विरोध गर्ने एमाले नेताहरु भने संसदमा विरोध गरेर बैठक स्थगित भएपछि पालैपालो लाइनमा बसेर तलबका लागि हाजिर लगाएको स्रोतले जनाएको छ ।

संसद बैठकमा विरोध गरेपनि एमाले सांसदहरुलाई तलबको कति लोभ रहेछ भन्ने पर्दा पछाडिको दृश्य हो यो । सोमबार ढिला गरी नविना लामा, मोतीलाल दुगड, थममाया थापा, यज्ञराज सुनुवार, नारायण मरासिनीलगायतका सांसद ढिलो संसद् भवन पुगेका थिए । संसद भवन पुगेर हाजिर लगाएर उनीहरु बाहिरिए ।

पछि आएका एमालेका धेरै सांसदहरुले सोमबार नारा नलगाई फर्किनुपरेकोमा खुसी व्यक्त गरेको स्रोत बताउँछ । तर, तलब हाजिरमा भने विरोध गर्नेहरु नै अघिका लाइनमा देखएको स्रोतको भनाइ छ । अहिले संघीय सांसदको तलब ६६ हजार ७० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV