११ आश्विन २०७८, सोमबार

भक्तपुर । विश्व पर्यटन दिवसको २० जना साँस्कृतिक गुरुहरुलाई सम्मान तथा स्थानीय पथप्रदर्शकहरुलाई प्रमाण–पत्र वितरण गरिएको छ ।

सोमवार भक्तपुर नगरपालिकाकाले नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा २० जना स्थानीय साँस्कृतिक गुरुहरुलाई सम्मान तथा स्थानीय पथप्रदर्शकहरुलाई प्रमाण–पत्र वितरण गरिएको हो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरुको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरको कला, संस्कृति र मातृभाषा नयाँ पुस्तालाई सिकाउँदै लानुपर्ने बताउनुभयो ।

अध्यक्ष रोहितले नयाँ तथा आधुनिक घर निर्माण गर्दा पुर्याउनुपर्ने सावधानी बारे जनतालाई सचेत पार्नुपर्ने बताउनुहुँदै नगरबासीहरुलाई नक्सा बमोजिम घर निर्माण गराउने तर्फ नगरपालिकाले जोड दिनुपर्ने बताउनुभयो ।

देशमा राजनीतिक अस्थिरताका कारण नयाँ पुस्तामा राजनीति प्रति वितृष्णा देखिनु चिन्ताको बिषय भएको बताउँदै उहाँले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृति जस्ता विषयको महत्वबारे विद्यार्थीहरुलाई जानकार गराउनु पर्ने बताउँनु भयो । उहाँले सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापनमा जोड दिनुपर्छ भन्नुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले विभिन्न कालखण्डमा भक्तपुरबाट हराएका वा चोरी भएका मूर्तिहरु फिर्ता गर्न आवश्यक पहल गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले गुरुहरुप्रति आदर प्रकट गर्दै नपाले आयोजना गरेको सम्मान प्रशंसनीय भएको बताउनुभयो ।

मौलिक भाषा, कला र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई आवश्यकताबोध गराउनु आजको आवश्यकता रहेको बताउँदै सांसद गोसाईंले हाम्रो संस्कृतिलाई जीवन्त बनाउँदै लानुपर्नेमा जोड दिनु भयो । उहाँले आफ्नो विधाको सीप र ज्ञानलाई लिपिबद्ध गर्न सके हाम्रो कला र संस्कृति संरक्षण हुँदै जाने पनि बताउनुभयो ।

समान कार्यक्रममा अध्यक्ष बिजुक्छेंले सांस्कृतिक गुरुहरुलाई नगद रु १५,०००।– सहित प्रशंसा पत्र प्रदान गर्नुभयो । त्यस्तै नगर प्रमुख प्रजापतिले दोसल्ला ओढाउनुभयो भने उपप्रमुख रजनी जोशीले साँस्कृतिक गुरुहरुलाई पूmलमाला लगाइ दिनुभयो ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले विश्व पर्यटन दिवसको अवसरमा आयोजित टुर गाईड तालिमका सहभागी स्थानीय पथ प्रदर्शकहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV