११ आश्विन २०७८, सोमबार

पोखरा । ४२औँ विश्व पर्यटन दिवसको अवसरमा सोमबार पोखरामा विभिन्न ११ देशका राजदूत र कूटनीतिज्ञहरुले पदयात्रा गरेका छन् । कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई सकारात्मक सन्देश दिन गण्डकी प्रदेश सरकारको निमन्त्रणमा राजदूत र कुटनीतिज्ञ पोखरा आएर पदयात्रा गरेका हुन् ।

राजदूत र कुटनीतिज्ञलाई पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड र सरकारको पहलमा पदयात्रा गराइएको छ । राजदूत र कुटनीतिज्ञको आगमनसँगै विश्वभर नयाँ सन्देश पुग्ने विश्वास लिइएको छ ।

पदयात्रामा कतार, फिनल्याण्ड, बंगलादेश, जर्मनी, दक्षिण कोरिया, साउदी अरब, इजिप्ट, श्रीलंका, उत्तर कोरिया, थाइल्याण्ड, यूएईलगायत देशका राजदूत पोखरा आएर सहभागी भएका थिए ।

दुई दिनका लागि पदयात्रामा सहभागी हुन पोखरा आएका राजदूत र कूटनीतिज्ञसहितका अन्य पाहुनाहरूले सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ नौडाँडाको अपांगमैत्री ट्रेलबाट पदयात्रा सुरू गरेका थिए ।

करिब ३ घण्टाको पदयात्रा भुमेको स्थान, खडगाउँ, गुप्तकालिका मन्दिर हुँदै कास्कीकोटस्थित कश्यप तालमा आएर टुंगिएको थियो ।

पदयात्रामा सहभागी सबैलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, विभिन्न आमा समूह तथा स्थानीयले स्वागत गरेका थिए ।

अहिले नेपालमा आउने पर्यटकमध्ये आधाभन्दा बढी पर्यटक पोखरामा आउने गरेका छन् । पोखराको दृश्य र माछापुच्छ«ेको शीरले पर्यकटलाई तान्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV