११ आश्विन २०७८, सोमबार

काठमाडौँ । काठमाडौँको कपन कहिले कुलो बनेर बग्छ त कहिले खहरे । यस वर्षको वर्षामा कपन खोलो नै बनेर बग्यो । कपन २०७२ सालको भुइँचालोले पनि नराम्ररी हल्लाएको बस्ती हो- कपन । काठमाडौँमा बढेको जनघनत्वको पछिल्लो आकर्षण बनेको कपनको ढलमा पसेर हराएका एक बालक झण्डै साता दिनपछि भेटिए, त्यो पनि ललितपुरको खोँचमा ।

कसरी बढ्दैछन् काठमाडौंका वस्तीहरु र ती बस्तीहरुमा कसरी बन्दैछन् मानिसलाई थाप्ने धरापहरु ? स्मार्ट सिटी बनाउने सपना बाँडिएको काठमाडौं कसरी कहालीलाग्दो बन्दैछ ? यो प्रश्न त्यही कपनको ढलबाट हराएर बल्लतल्ल भेटिएका ती १० वर्षीय बालकको आत्माले सदैव उठाइरहने छ ।

बर्खा लागेपछि काठमाडौं उपत्यकामा कतै डुबान हुनु, कतै बाढी पस्नु त कतै घरबार र मानिस नै बगाउनु अब सामान्य नै भइसक्यो । विनायोजना वस्तीहरु बढ्दा काठमाडौैको कथा अब कुरुप हिसाबमा लेखिन मात्र बाँकी छ । यही हो त्यो शहर जस्लाई स्मार्ट बनाउने सपना बाँडिएको थियो , यो त्यही शहर हो जस्लाई सिंगापुर बनाउने कल्पनामा सजाईएको थियो । यही हो त्यो शहर जहाँ मेट्रोदेखि मोनोसम्मको रेल चलाएर काठमाडौंवासीलाई शयर गराउने झुठो आश्वासन बाँडिएको थियो । तर दुर्भाग्य काठमाडौको कथा फरक छ अब । अब काठमाडौै मानिसका लागि सुख सुविधाको शहर होइन । कहालीलाग्दो शहर बन्दै गएको छ ।

२०७४ सालको असारको अन्तिम साता काठमाडौं जलमग्न हुँदा दुई किशोरी ढल र नालामा बगे । विद्यालयबाट फर्कर्दै गरेकी सामाखुसीकी सत्या सापकोटालाई देख्नेहरु बचाउन सफल भए । अर्की तारकेश्वर नगरपालिकास्थित नेपालटारकी १० बर्षीया छात्रा विनिता फुयाँल पनि स्कुलबाट फर्कदै गर्दा बगिन । उनले सडकको नाली देखिनन । भेलले बगाएर उनलार्य चःमती खोलामा पुुर्यायो । देख्नेहरुले जसोतसो उद्दार गरेर महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल पुर्याए तर दुर्भाग्य विनिता बाँचिनन । सत्या र विनिताले भोगेको त्यो कटुसत्य पछि काठमाडौं महानगरपालिका सुध्रिएको भए कपनबाट १० बर्षीय उज्ज्वल विक यसपटक हराउँने थिएनन् । नत उनले पनि विनिताकै नियति भोग्नु पर्थ्याे ।

सत्या र विनिताको घटना काठमाडौैको लाजसँग मात्र जोडिएको थिएन, यो राष्ट्रिय लज्जाको विषय थियो । किनभने यो संघीय राजधानीमा भएका घटना हुन् । यो मात्र होइन । २०७५ सालको कात्तिकमा कीर्तिपुरमा सडक किनाराको खानेपानी च्याम्बरमा खस्दा साइकल यात्री श्यामसुन्दर श्रेष्ठले ज्यान गुमाए । कता खाडल खनिएको छ अनि कता दुलो पारिएको छ ? कता नाला छ त कता ढल छ ? काठमाडौंका सडकमा हिड्ने कसैलाई केही थाहा हुँदैछन् । सत्या र विनिताको घटनापछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकका खाल्डाखुल्डी टाल्न निर्देशन दिए । ढल छोप्न पनि आदेश दिए, नाला देखिने गरि बनाउन पनि भने । तर अहिले उही देउवा सरकारमा फर्किएका छन, सडकमा खाल्डा खुल्डी उस्तै छन् । न ढलको हालत सुध्रियो न नालाको नै । अझ विनिताका पिता झम्कनाथ फुँयालले रुँदै काठमाडौैका मेयर विद्या सुन्दर शाक्यलाई मोनो रेलको सपना नबडानुस् बरु सडक मात्र राम्रो बनाइदिनुस् भन्दै गरेको विन्ति सुनिदिएको भए विचरा उज्ज्वल विकको घरमा यो बर्षको दशैं खल्लो त हुने थिएन् ।

गत साताको मंगलबार अर्थात असोज ५ गते साँझ आफ्ना हजुरबुबासंग फर्कदै गरेका उज्जवल विक कपनस्थित मिलनचोक नजिकै खोलामाथि बनाइएको सडकको ढलबाट खसे । खोज्दा भेटिएन । धेरै खोजी भयो तर ती उज्ज्वल धेरै उज्याला उनका सपनाहरुलाई थाँती राखेर कलिलो उमेरमा नै विदा भए । काठमाडौंको ढल र ढल भन्दा माथि उठन नसकेका नेताहरुको कमजोरीका कारण उज्ज्वलले विनिता फुँयालको नियति नै पछ्याए ।

अब अझै कति विनिता र उज्ज्वलहरुको भाग्य खोसिने हो । घरका भित्ता र बिल्डिङहरु भरि भित्ते विज्ञापन सजाईएका छन् । होर्डिङ बोर्ड जताततै राखिएका छन् । पैदल यात्री मात्र होइन सवारी चालकहरुलाई पनि आकाश तिर हेरेर र भित्तो तिर नजर लगाएर हिडन र सवारी कुँदाउन बाध्य पारिएको छ । अनि दुर्घटना मुक्त शहरको कल्पना गर्ने ट्राफिक प्रहरी र महानगरको मनशायले कहाँनेर तालमेल खाला र ? आदरणीय दर्शकवृन्द….मेयर शाक्य ज्यूको यो शहरमा सडकभरि खाल्डाखुल्डी छन् , फुटपाथभरि हिड्ने ठाँउ छैन । न राति बल्ने सडक वत्तिहरु बल्छन् न ट्राफिक लाइट नै सधै भरि बल्छन् । न दिउँसो सुरक्षित काठमाडौं नत रातमा नै । आश्वासन देखाएर विगारियो काठमाडौंलाई, सबै अवसर यही थुपारेर गिजोलियो काठमाडौंलाई र सबैको सपनाको शहर बनाएर भताभुंग पारियो काठमाडौंलाई ।

अब काठमाडौंमा कसरी जोगिने हो, काठमाडौंमा कसरी टिक्ने हो र काठमाडौमा कसरी बाँच्ने हो ? आदरणीय मेयर साब सोचिदिनु होला । विरक्तिनु अघि काठमाडौको अब थप कन्तबिजोग नहोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV