१० आश्विन २०७८, आईतवार

मुस्ताङ । मुस्ताङको एकमात्र फलफुलको राजधानी सितोष्ण बागबानी बिकास केन्द्रको स्थापना दिवस एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।

हिमाली जिल्ला मुस्ताङको गहनाको रूपमा परीचित उक्त केन्द्रले संस्थाको मान मर्यादालाइ सधैं उचो बनाउन पहिलो पटक स्थापना दिवसको आयोजना गरेको हो । बिक्रम संवत् २०२२ सालमा स्थापना भएको उक्त केन्द्रले सधैं कृषक वर्गको हितमा काम गर्दै आइरहेको छ ।

मुस्ताङमा पहिलोपटक स्थापना भएको सितोष्ण बागबानी विकास केन्द्र आम मुस्ताङबासी र कृषकहरुको लागि आफैमा एउटा महत्त्वपूर्ण सरकारी संस्था हो । यहाँ उत्पादन हुने स्याउ लगायत अन्य दर्जनौं फलफुलले आम मुस्ताङबासीहरुलाइ सहजता भएको पाइन्छ । यद्यपि स्थापना कालमा जे जस्तो अवस्था भए पनि हाल आएर यसको व्यापकता र नयाँ अध्ययन अनुसन्धानकै कारण अझ थप परिस्कृत हुनुले सकारात्मक सन्देश प्रवाह भएको उपस्थित अतिथि बर्गको ठम्याइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जिल्ला सभापति एवम् वरिष्ठ कृषक बिष्णुराज हिराचनका अनुसार सुरुवाती चरण नै आम मुस्ताङबासीको लागि महत्त्वपूर्ण साबित भएको बताए । तत्कालीन अवस्थामा केन्द्रको स्थापना गरेर आम मुस्ताङबासिको मर्म र धारणा अनुसार लागि पर्नु आफैमा गर्वको कुरा रहेको बताए ।

बिक्रम संवत् २०२२ सालमा स्वर्गीय बुद्धिरत्न शेरचनको पालमा स्थापना भइ हालसम्म आइपुग्दाको उतारचढावको बारेमा समेत हिराचनले आफ्नो महत्त्वपूर्ण भनाइहरु राखे । यसोत हिमाली क्षेत्र भएकै कारण तत्कालीन अवस्थामा केन्द्र स्थापना गर्नु सजिलो नभएको हिराचनले बताए । आफूहरु जवान भएको बेला स्थापना भएको केन्द्र अहिले ५६ वर्ष पार गरि सक्दा यस अवधिमा धेरै कुराहरुको कायपलट भएको समेत हिराचनको जिकिर छ । तत्कालीन अवस्थाका केन्द्र प्रमुखहरूको समेत उहाँले खुलेर प्रशंसा गरेका थिए । उनले भने, यदि उहाँहरु हुन्थेन भने केन्द्र यो अवस्थामा आइपुग्ने थिएन ।

स्थापना दिवसको अवसरमा बल्दै घरपझोङ गाउँपालिका वडा नं २ का अध्यक्ष मान बहादुर बिकले कार्यक्रमको बारेमा खुलेरै प्रशंसा गरे । स्थापना दिवस कार्यक्रम आयोजना हुनुले समग्र सितोष्ण बागबानी विकास केन्द्रको नाम र गरिमा ह्वात्तै बढेको बताए । अझैसम्म केन्द्रको नाममा वार्षिक कार्यक्रम समेत नभएकोमा यश वर्ष समग्रमा स्थापना दिवस कार्यक्रम आयोजना हुनु राम्रो पक्ष रहेको बताए । उनले भने, अब यस किसिमको कार्यक्रम आयोजनाले सबै कृषक दाजुभाइहरुको मर्म र समस्या बुझ्ने अवसर पाउनेछ ।

पछिल्लो समय स्याउ लगायत अन्य महत्त्वपूर्ण तरकारी बालिमा विभिन्न किसिमका रोगहरु देखिन थालेको प्रति उनले चिन्ता व्यक्त गरे । सबैले मानेको र सबैभन्दा पुरानो कृषि संस्था भएकोले पनि मौसम परिवर्तन र यसको समाधानका उपयाहरुको लागि बेलैमा सोच्न जरुरी रहेको वाड अध्यक्ष बिकले बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय फलफुल बिकास केन्द्र किर्तिपुरका प्रमुख तथा सहसचिव डा, शान्ता कार्किले समयानुकूल केन्द्रले आफूलाइ परिमार्जन गर्दै लैजानुपर्ने बताइन् ।

मुस्ताङको एक मात्र फलफुलको उद्योग भएकोले यसको लागि अझ थप जग्गा व्यवस्थापन संगसंगै फलफुलको उचित स्याहारसुसारमा ध्यान दिनुपर्ने कार्किले बताइन् । साथै नेपाल सरकारले यस विषयमा बेलैमा सोचेर आवश्यक प्रक्रियाहरु पूरा गर्नुपर्नेमा जोड दिनुपर्ने कार्किको धारणा रहेको छ । हाल आएर उच्च घनत्वोमा उत्पादन हुने स्याउ लगायत पुरानो स्याउ बालिलार्इ समेत महत्वका साथ हेरिनुपर्ने कार्किले बताइन । उनले भनीन, अब मुस्ताङ पहिलाको जस्तो नभएकोले यहाँको सबै राम्रो चिजहरुको देशव्यापी रूपमा अगाडी बढाउन जोड दिनुपर्ने आवश्यक रहेको छ ।

सितोष्ण बागबानी विकास केन्द्रको स्थापनाकालको ५६ वर्ष आम मुस्ताङबासी कृषक दाजुभाइहरुसंग सकारात्मक भूमिका खेल्न सफल भएको छ । सुरुवाती चरणको त्यो कठिन पलहरु पार गर्दै हालसम्म आइपुग्दा केन्द्रले धेरै राम्रो कार्यहरू गरेको सबैलाई अवगत भएको कुरा हो । त्यसैले, केन्द्रको लागि सबै जिल्लास्थित तह र तप्काबाट आवस्यक पहलकदमी हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV