१० आश्विन २०७८, आईतवार

काठमाडौं । विभागीय टोलीत्रय त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसंगै गल्कोट स्पोट्र्स क्लबले छैटौं संस्करणको एनभिए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेका छन ।

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

यस्तै दोस्रो खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी शुरुवात गर्न सफल भयो । प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा २५–१८ को जित निकालेको एपिएफले तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जित्न सफल भयो ।

तेस्रो खेलमा बाग्लुगको गल्कोट स्पोट्र्स क्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकालल्दै विजयी सुरुवात गर्न सफल भयो । पहिलो सेटमा २५–१८ को जित निकालेको गल्कोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भयो ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५–२१ ले र तेस्रो सेटमा २५–१३ को साथ एकपक्षीय जित निकाल्यो ।

च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुने छ । च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ । टिप टप हेल्प नेपाल स्पोट्र्स क्लबले बागमती प्रदेश, प्रदेश २ ले गल्कोट, दावाली मिलन क्लबले गण्डकी प्रदेश, नेपाल पुलिस क्लबले मणिमुकन्द भलिबल, नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । बुढानिलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोट्र्स क्लबसँग खेल्नेछ । महिलातर्फको खेल १२ असोजदेखि सुरु हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ए मा टिप टप हेल्प नेपाल स्पोट्र्स क्लब, प्रदेश नम्वर २, बागमती प्रदेश र गल्कोट स्पोट्र्स क्लब रहेका छन । समूह बी मा नेपाल पुलिस क्लब, मणि मुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश रहेका छन् ।

समूह सी मा त्रिभुवन आर्मी क्लब, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह डी मा नेपाल एपीएफ क्लब, बुढानिलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोट्र्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपिएफ क्लब, ढोरपाटन स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब रहेका छन् । समूह बी मा होंगान्जी न्यु डायमन्ड स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी क्लब, रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ ।

च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV