१० आश्विन २०७८, आईतवार

बनेपा । काभ्रेको बनेपामा ‘मानन्धर सेवा समाज’ गठन गरिएको छ । बनेपाका जुझारु युवा नवराज मानन्धरको नेतृत्वमा सात सदस्यीय समाज गठन गरिएको हो ।

समुदायभित्रको समस्यालाई सम्बोधन गर्दै मानन्धर समाजको हित तथा उत्थानको लागि सेवाभावले समाज गठन गरिएको बताइएको छ । समाजमा उपाध्यक्ष रोशन मानन्धर, कोषाध्यक्ष सुदर्शन मानन्धर, सचिव विजय मानन्धर र सदस्यहरुमा विजयलक्ष्मी मानन्धर तथा डा. रोजी मानन्धर छनोट भएका छन् ।

‘पछिल्लो समयमा मानन्धर समुदाय निकै पछाडि छ । अब बनेपाका सबै मानन्धरहरु एकजुट भएर अगाडि बढ्छ । सबै मानन्धरहरुबीच एकले अर्कोलाई साथ र सहयोग गर्नुपर्छ’ समाजका अध्यक्ष नवराज मानन्धरले बताए ।

नवगठित समुहले समग्र मानन्धर समुदाय तथा बनेपाको विकासको लागि पनि काम गर्ने उनको भनाइ थियो । शनिबार आयोजित भेलामा संस्कृतिका अध्येता ज्ञानकाजी मानन्धर, उद्योग वाणिज्य संघ काभ्रेका निवर्तमान अध्यक्ष प्रकाश मानन्धर लगायतका महानुभावहरुको उपस्थिति थियो ।

यसअघि भक्तपुरमा न्हुछेरत्न मानन्धरको नेतृत्वमा २१ सदस्यीय भक्तपुर जिल्ला मानन्धर युवा संघ गठन गरिएको थियो । तीन वर्षअघि भक्तपुर नगर, मध्यपुर र दधिकोट पकांडोलका ७ वटा मानन्धर समुदायको बाहुल्य भएको टोलका प्रतिनिधि सम्मिलित गराएर युवा संघ गठन गरिएको थियो ।

संघले जिल्लाका मानन्धर युवाहरुको क्षमता विकास कार्यक्रम, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रोत्साहन हुनेखालका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV