१० आश्विन २०७८, आईतवार

तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तनहुँको आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ । तीब्र प्रतिष्पर्धामा रहेका नेताहरुको जिल्लामा अधिवेशनको मतपरिणामले भावी प्रतिष्पर्धालाई शंकेत गरेको छ ।

केन्द्रमा प्रभाव राख्ने वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुब वाग्लेको तनहुँमा दुई नेता वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य भट्टराई धेरै नखुले पनि अरु बाँकी सतहगत प्रतिष्पर्धामा उत्रिए ।

पार्टीका वरिष्ठ नेता पौडेलको प्रतिनिधित्व गर्ने जिल्ला सभापति बैकुण्ठ न्यौपाने भने खुलेरै आफ्ना उम्मेदवार जिताउन लागिपरे ।

कहाँ र कुन पक्ष नेतृत्वमा ?

तनहुँको व्यास नगरपालिकाको सभापतिमा निर्वाचित सूर्यचन्द्र हड्खले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । उनलाई पार्टी सभापति बैकुण्ठ न्यौपानेले खुलेर समर्थन गरेका थिए ।

शुक्लागण्डकी नगरपालिकामा भने केन्द्रीय सदस्य प्रदीप पौडेल पक्षका नेता किसान गुरुङको विशेष रोजाईमा परेका गोपीबहादुर गुरुङलाई वरिष्ठ नेता पौडेल पक्षले समेत समर्थन गरेको थियो । तर अरु पदका लागि भएको चुनावमा भने प्रदीप पौडेल पक्षले क्लिन स्वीप गरेको छ ।

उता, घिरिङ गाउँपालिका सभापति भएका यम थापा पनि केन्द्रीय सदस्य पौडेलकै साथमा सर्वसम्मत सभापति निर्वाचित भएका छन् । तर उनलाई पार्टी नेता राजेन्द्रकृष्ण श्रेष्ठको समेत साथ रहेको बताइन्छ ।

आँबुखैरेनी गाउँपालिकाको सभापतिमा निर्वाचित विष्णु पन्त पार्टी केन्द्रीय सदस्य शंकर भण्डारीनिकट मानिन्छन् । उनले चुनावी प्रतिष्पर्धामा गोविन्द भट्टराई खेमाको समर्थन पाएका प्रितम गुरुङलाई पराजित गरे ।

बन्दीपुरमा पनि शंकर भण्डारी पक्षधर विजयी भएका छन् । भण्डारीको साथ पाएका कर्णबहादुर खत्रीले केन्द्रीय सदस्य गोविन्द भट्टराई पक्षधर मानिने बैस गुरुङलाई पराजित गरे । गुरुङलाई वरिष्ठ नेता पौडेल पक्षधरको समेत साथ थियो ।

व्यासपछि धेरै मतदाता रहेको भानु नगरपालिकामा वरिष्ठ नेता पौडेल पक्षधर रामकुमार श्रेष्ठ विजयी भएका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीको पक्षबाट नवीनराज दाहाल उम्मेदवार बनेपछि इतरका नेताको समेत साथ पाएका रामकुमार श्रेष्ठ निर्वाचित भए ।

उनलाई जिताउन जिल्ला सभापति न्यौपानेको समर्थनमा पूर्व सभापति रघुनाथ पौडेल तथा क्षेत्रीय सभापति उदयराज गौली खुलेर लागेका थिए । म्याग्दे गाउँपालिकाको सभापतिमा निर्वाचित रामभक्त घिमिरेलाई कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्र्रुव वाग्लेको विशेष साथ रह्यो ।

केही समययता म्याग्देको चुनावी जोडघटाउमा सक्रिय वाग्लेका रोजाई घिमिरेलाई केन्द्रीय सदस्य भण्डारीको पनि साथ रह्यो । वरिष्ठ नेता पौडेल पक्षधरले विनोद खनाललाई समर्थन गरेको चर्चा छ ।

भीमाद र ऋषिङमा स्थगित

तीन उम्मेदवारबीच मतदान शुरु हुनै लाग्दा तरुणहरुबाट विरोध भएपछि ऋषिङको नेतृत्व चयन एक दिनलाई सरेको छ । सभापतिका आकांक्षी दानबहादुर श्रेष्ठ, तिलबहादुर थापा र भोजराज रानाबाटबीच सहमति हुन नसकेपछि मतदान तय भएको थियो ।

अरु सबै पदमा सहमति भएको गाउँपालिकामा मतदान शुरु हुन लागेपछि तरुण दलका कार्यकर्ताहरुले विरोध गर्दै सर्वसम्मत चयन गर्न दबाब दिएका थिए । त्यसपछि सहमतिका लागि स्थगन भएको छ ।

श्रेष्ठ र थापा दुवै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठनिकट मानिन्छन् । रानाभाट भने वरिष्ठ नेता पौडेलनिकट मानिन्छन् । भीमादमा पनि कार्यवाहक सभापति जीतप्रकाश आलेको जोडमा सहमतिमा नेतृत्व छान्ने भन्दै निर्वाचन स्थगन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV