१० आश्विन २०७८, आईतवार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइबार (आज) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आचार्यले २०२१/२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको दशौं विश्वसम्मेलन आगामी अक्टोबरको २३-२५ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । उम्मेदवारी घोषणा गर्दै आचार्यले भने, ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु ।’

उनले थप भने, ‘पैत्रिक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु ।’

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जिकृत सदस्य संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पु¥याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन्, भने संघका पञ्जिकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना रहेको छ । थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ)को मान्यता दिलाउन पहल गर्ने पनि आचार्यले घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मिएका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी र समाजसेवी पनि हुन् । करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए ।

त्यस्तै विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे ।

नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्र्याउन केही कानूनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ । मेरो ध्यान यसमा केन्द्रित हुनेछ ।’

नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकेर नेपालमै लगानीको वातावरण बनाउनु पनि आफ्नो अर्को प्राथमिकता रहेको उनले बताए । संघका अग्रज अभियन्ताहरुलाई सम्मान गर्दै संघको अभियानमा नयाँ पुस्तालाई सक्रिय बनाउने आफ्नो उद्देश्य रहेको आचार्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV