१० आश्विन २०७८, आईतवार

डोल्पा । कर्णालीका मुख्यन्त्री महेन्द्रबहादुर शाहीलाई डोल्पाको जगदुल्ला गाउँपालिकाले ४० किलोको माला लगाइदिएर स्वागत गरेको छ । गाउँपालिकाको आफ्नै प्रशासकीय भवन बनेपछि उद्घाटन गर्न जगदुल्ला पुगेका मुख्यमन्त्री शाहीसहित अन्य ३ जनालाई स्थानीयले ४० किलोको मालाले स्वागत गरेका हुन् ।

मुख्यमन्त्री सँगै कर्णलीका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायलाई पनि ४० किलोकै मालाले स्वागत गरिएको स्थानीयले बताएका छन् ।

स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समयअघिमात्रै निर्माण सम्पन्न भएको थियो । जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला तयार पारेको सुविधासम्पन्न प्रशासकीय भवनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो ।

यससँगै मुख्यमन्त्री शाहीले वडा नं ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी बनाइएको दलित आवासीय विद्यालयको समेत उद्घाटन गर्नुभयो।

गाउँपालिका भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सुनको थुप्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने बताउनुभयो। कर्णालीका प्रचुर सम्भावनाको सरकारले पहिचाहन गरिरहेको उल्लेख गर्दै उहाँले आफू नेतृत्वको सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्नेमा जोड दिनुभयो । त्यस्तै पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा सरिक हुन मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य बद्मीक्वारी बोहोरालगायत अथिति हेलिकोप्टरबाट जगदुल्ला पुग्नुभएको थियो।

स्थानीय सरकार र सङ्घीय सरकारको साझेदारीमा रु साढे चार करोड लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिनुभयो।

कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, प्रजिअ माधवप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV