९ आश्विन २०७८, शनिबार

एजेन्सी । दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ । यससँगै तीन वर्षदेखि सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो कूटनीतिक लडाईको अन्त्य भएको छ ।

मेङ र दुई क्यानेडियालीहरू भूतपूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र व्यवसायी माइकल स्पावर पक्राउ परेको तीन बर्षपछि आफ्नो देश फर्कने अनुमति पाएका छन् । आलोचकहरूले उनीहरूको सुरक्षा नियन्त्रणलाई ‘बन्धक कूटनीति’ भनेका छन् ।

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अरबपति संस्थापक रेन झेङफेईकी ४९ वर्षीया छोरी मेङलाई क्यानाडामा गिरफ्तारीपछि तीन वर्षसम्म एउटा घरमा नजरबन्दमा राखिएकोमा वैंकूवरको अदालतको सुनवाइपछि शनिबार रिहा गरिएको हो । उहाँलाई संयुक्त राज्य अमेरिकाले सुपुर्दगी गर्न भनेपछि उहाँले आफूले कम्पनी र आफू रहेको मुलुकको कानून अनुसार नै व्यवसायिक गतिविधिमा रहेकोले आफू निशर्त चीन फर्कन पाउनुपर्ने दावी गर्दै अदालतमा मुद्दा लड्दै आउनुभएको थियो ।

अमेरिकी अभियोक्ताहरूले उहाँविरुद्ध ठगीको अभियोग निलम्बन गरेर अन्ततः हटाइने सम्झौता गरेको बताएको केही घण्टापछि उहाँलाई रिहा गरिएको हो । मेङको रिहाइपछि उहाँ तुरुन्तै चीनको शेन्जेन शहर जाने उडानमा चढ्नुभएको थियो । सन् २०१८ को डिसेम्बर १ मा अमेरिकी अधिकारीहरूको निर्देशनमा वैंकूवरको अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ गिरफ्तार भएदेखि पहिलो पटक चीन फर्किनुभएको हो ।

यसबीच, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मेङको पक्राउको बदलामा पक्राउ परेका दुई क्यानेडियालीहरूले चिनियाँ हवाई आकाश काटिसकेका र घर फर्कंदै भएको जानकारी गराउनुभएको छ । ट्रुडोले ओटावामा भएको प्रेस सम्मेलनमा भन्नुभयो, “‘पत्याउनै नसकिने कठोर अनुभव’ उहाँहरूले सामना गर्नुप¥यो, उहाँहरूको विमान शनिबार क्यानाडामा अवतरण हुने आशा गरिएको छ ।”

अन्तरराष्ट्रिय सञ्चार माध्यमले उनीहरूलाई ‘दुई माइकल्स’ को संज्ञा दिएका थिए । ओटावाले जासुसी गरेको आरोपमा मेङलाई पक्राउ गरेको केही दिनपछि ती क्यानेडियाली नागरिकलाई चीनमा पक्राउ गरिएको थियो । बेइजिङले मेङको मुद्दालाई ‘एउटा विशुद्ध राजनैतिक घटना’ बताउँदै आएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले उनीहरूको रिहाइपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “अमेरिकी सरकार यस निर्णयलाई स्वागत गर्न अन्तरराष्ट्रिय समुदायको पक्षमा उभिन्छ ।

चीन जानुअघि संवाददातासँग कुरा गर्दै मेङले यसो भन्नुभयो, “विगत तीन वर्षमा मेरो जीवन उल्टो भएको छ । आमा, पत्नी वा मेरो कम्पनीको वित्तीय अधिकारीको हैसियतमा यो मेरो लागि तनावपूर्ण समय थियो ।” उहाँले पछि आफ्नो विमानबाट चिनियाँ सामाजिक सञ्जालमा ‘पार्टी र सरकारलाई धन्यवाद’ दिँदै सन्देश पोस्ट गर्नुभएको छ ।

यसैबीच् चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिङले शनिबार मेङलाई थुनामा राख्नु ‘एक चिनियाँ नागरिक विरुद्ध राजनैतिक बदलाको भावना” भएको बताउनुभयो । राज्य प्रसारक सिसिटिभीका अनुसार चुनिङले मेङ वान्झाउ विरुद्ध लगाइएको ‘ठगी’ आरोप पूरै झुटो थियो ।”

यस मुद्दाको समाधानले बेइजिङ, वासिङटन र ओटावाबीचको सम्बन्धमा देखिएको तनाव हट्ने विश्वास गरिएको छ । चीनले अमेरिकालाई आफ्नो एउटा प्रविधिको ‘टाइटन’माथि राजनीतिक आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV