९ आश्विन २०७८, शनिबार

काठमाडौं । प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेशले राष्ट्रिय स्तरको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । प्रशिक्षणका सबै कार्यक्रमहरु दसरथ रंगशालाको ट्र्याकमा प्रयोगात्मक र एन्फाको मिडिया सेन्टरमा शैद्धान्तिक कक्षाहरु सञ्चालन हुने बताइएको छ ।

परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । बागमती प्रदेशले आयोजना गरेको एक हप्ते प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना सहभागी रहेका छन् ।

एथलेटिक्स संघका प्रमुख प्रशिक्षक चन्द्र गुरुङको नेतृत्वमा बरिष्ठ प्रशिक्षकहरु कान्ति महतो र धनिराम चौधरीले सहभागीहरुलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रममा नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एन्टि डोपिङको समेत कक्षा सञ्चालन गरिनेछ ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाली एथलेटिक्स इतिहासका कीर्तिमानि बैकुण्ठ मानन्धरले बागमती प्रदेश खेलकुद बिकास परिषद्को खुलेर प्रशंसा गरे । राष्ट्रिय खेलकुद परिषद् र अन्य प्रदेश पनि सुस्ताएको बेला बागमती प्रदेशले गरेका कार्यक्रम र सक्रियताले खेलकुदमा नयाँ आशाको किरण सिर्जना गरेको उनले बताए ।

कार्यक्रमका अध्यक्ष सूर्यलाल भण्डारीले प्रशिक्षकको समयानुकूल क्षमता बिकास गर्न र सबै जिल्ला खेलकुदको समानुपातिक बिकास गर्नको लागि उक्त कार्यक्रम सञ्चालन गरेको बताए । उनले यस्तो कार्यक्रमले ग्रासरुट लेभलमा खेलाडी उत्पादन गर्न र प्रशिक्षणलाई गाउँ–गाउँमा सञ्चालन गर्न मद्दत पुग्ने बताए ।

बागमती प्रदेशले यसै महिनामा एथलेटिक्ससहित अन्य तीन खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV