९ आश्विन २०७८, शनिबार

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई’ नेपालमा हुने महत्वपूर्ण निर्वाचनहरूमा मताधिकार दिने सन्दर्भमा वञ्चित नगरियोस् भन्दै सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।

समाजले भारतस्थित रहेको प्रवासीहरुको भारतबाटै मताधिकारको व्यवस्था गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १२ बुँदे ज्ञापनपत्र बुझाएको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर समाजले नेपालको परिवर्तनको हरेक आन्दोलनमा आफूहरुको पनि महत्वपूर्ण योगदान रहेको तर, सरकारले भने आफूहरुलाई सधैं उपेक्षा गरेको भन्दै अब हुने हरेक निर्वाचनमा आफूहरुलाई पनि मताधिकार दिने व्यवस्था गरिनुपर्ने बताएको हो ।

भारतमा रहेका प्रवासीहरुले ०४६ सालमा भएको जनआन्दोलन र ०६२–६३ सालमा भएको जनआन्दोलन दुवैमा पूर्ण साथ दिएको भन्दै अहिलेको अवस्थामा आएर सरकारले सोही प्रवासीहरुको मताधिकारलाई सुनिश्चित् गर्न नसकेको एकता समाजको गुनासो छ । आफूहरुको मागप्रति प्रधानमन्त्री देउवासकारात्मक रहेको समाजले जनाएको छ ।

सर्वोच्च अदालतले परमादेशको सम्मानसहित हालै सरकालले नीति र कार्यक्रममा प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्ने विषयलाई समेटेकोमा केही आशा पलाएतापनि भारतमा रहेका प्रवासी नेपालीहरुको बारेमा सरकारले प्रष्ट नीति नलिएकोले आफूहरुले ज्ञापनपत्रमाफर्त भारतमा रहेको प्रवासीको हकहधिकार सुनिश्चित गर्न प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउनुपरेको पनि समाजको भनाइ छ ।

मूल प्रवाह अखिल भारत नेपाल एकता समाजका अध्यक्ष दुर्गाबहादूर केसीले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको समानूपातिक निर्वाचनमा प्रवासीहरुले पनि मतदान गर्न पाउनुपर्ने बताए । उनले भने, ‘भारतस्थित् रहेको नेपाली प्रवासीलाई मताधिकारको व्यवस्था गरियोस्, भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायौँ । समानुपातिकमा तीन भागको एक भाग प्रवासमा रहेको हुँदा यसलाईपनि मान्यता दिनुपर्छ ।’ प्रवासीहरुलाई सरकारले ध्यान नदिएको भन्दै उनले गुनासो पोखे ।

त्यसैगरि कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाल एकता समाजले भारतमा रहेका नेपाली प्रवासीहरुले नेपालको सम्पूर्ण आन्दोलनमा साथ दिएको बताए । समाजले अघि सारेका मागप्रति आफ्नो पार्टीको समर्थन रहेको समेत उनले विश्वास दिलाए ।

उनले भने, ‘भारतबाटै मतदानको व्यवस्था गरिनुपर्छ । सार्क मुलुकहरु प्रवास मानिँदैन । सार्कबाहेक अन्य मुलुकलाई प्रवास मानिएको छ।’ भारतमा रहेका नेपाली प्रवासीहरुले पठाएको रेमिटेन्सबाट मुलुक सञ्चालन भइरहेको उनले बताए ।

उनीहरुको हकअधिकार सुनिश्चित गरी भारतबाटै समानुपातिकमा मतदान हाल्न पाउनुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री देउवाले सकारात्मक सन्देश दिएपनि यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।

जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाले विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्सले देश धानिएको भन्दै उनीहरुको अधिकारलाई पनि सुनिश्चित् गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘भारतलगायत विभिन्न देशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित् गराउनुपर्छ । उहाँहरुलाई मताधिकारबाट वञ्चित गराउने कुरा गलत छ । हामीले त संविधान बनाउँदापनि यो विषय उठाएका थियौं । आम निर्वाचनमा सम्बन्धित देशका दूतावासमार्फत उहाँहरुले मत हाल्न पाउनुपर्छ । अहिले पनि समाजले उठाएको मागप्रति हाम्रो एक्येबद्धता छ ।’

कार्यक्रममा समाजका महासचिव ठाकुर खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ७ नोभेम्बर १९७९ मा गठन भएको बताए । यसले निरंकुश तानाशाहीको विरुद्धमा काल रात्रिमा पनि भारतस्थित रहेको प्रवासीलाई संगठित गर्ने, सचेत गर्ने र नेपालको राजनिीतिलाई एकाकार गर्न मुख्य भूमिका खेलेको संगठन रहेको उनले बताए ।

उनले भने, ‘एकता समाजले भारतस्थित रहेको प्रवासी नेपाली जनताको विषयलाई उजागर गर्दै आएका छ । विभिन्न काल खण्डमा नेपालमा चल्ने आन्दोलनलाई भारतमा रहेको नेपाली प्रवासीहरुले साथ दिएका थियो । भारत स्थित रहेको नेपालीको विषयमा १० बुँदे ज्ञापन पत्र प्रधानमन्त्री समक्ष बुझाएका छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV