९ आश्विन २०७८, शनिबार

एजेन्सी । कोरोना महामारीमा भारतमा १५ लाख विद्यालयहरू बन्द हुँदा २४ करोड विद्यार्थीहरूको पढाइ प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।

हरेक चारमध्ये एक जना विद्यार्थीको मात्र इन्टरनेटमा पहुँच रहेको जनाइएको छ। यो समस्या राम्रोसंग बुझेकी शिक्षिका भारती कालराले प्रविधिको कारण कोही पनि विद्यार्थी कक्षा लिनबाट नछुटुन् भनेर एउटा अभियान नै चलाएकी बीबीसीमा उल्लेख छ।

दिल्लीस्थित एक सरकारी कार्यालयका उप प्रधानाध्यापकका अनुसार नियमित कक्षा नभएको र हामीले पढाइलाई अनलाइनमा लगेको अवस्थामा पनि कक्षा १० र १२ मा हाम्रा शत प्रतिशत विद्यार्थीहरू पास भए।

भारतीय शिक्षा प्रणालीमा कक्षा १० र १२को नतिजाले विद्यार्थीको शैक्षिक यात्रा तय गर्ने बताइन्छ। तर चुनौतीबीच शत प्रतिशत नतिजा हासिल गर्न सहज थिएन।

कालराको विद्यालयमा रहेका २६०० विद्यार्थी मध्ये अधिकांश न्यून आय भएका परिवारिक पृष्ठभूमिबाट छन्। भारतमा कोरोना भाइरस फैलँदै गएपछि कक्षाहरू अनलाइन माध्यमबाट हुने भयो । तर कालराका धेरै विद्यार्थी र अभिभावकहरू त्यसका लागि आवश्यक प्रविधिको पहुँच बाहिर रहेको उनले बताइन्।

कालराले आफ्नो परिवार र साथीहरूसंग अनुनय गरेर सबैभन्दा कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूका लागि ३२१ वटा स्मार्टफोन जुटाउन सफल भएको जनाएकी छन्। यो पहलका लागि यसै महिना गुरु दिवसका दिन उनी दिल्ली सरकारबाट सम्मानित पनि भएकी छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV