८ आश्विन २०७८, शुक्रबार

कपिलवस्तु । नेपाली कांग्रेसमा युवालगातय विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको आकर्षण बढिरहेका अवस्थामा कपिलवस्तु नगरपालिका–३ को बुथ सभापतिमा बिद्यावारिधी (पीएचडी) गरेका ३६ वर्षीय गगन कुमार सिंह निर्वाचित भएका छन् ।

शुक्रबार वडाको सानो बर्गदवा विद्यालयमा भएको बुथ अध्यक्षको निर्वाचनमा उनले एक मतले पाका नेता निर्मल कुमार शर्मालाई हराउदै वुथ अध्यक्ष बनेका हुन् । गगनले कुल ७७ र प्रतिद्धन्दी शर्माले ७६ मत पाएका थिए ।

कुल २ सय २५ मत मध्ये १ सय ६२ मत खसेको थियो । ७ मत भने बदर भएको निर्वाचन अधिकृत बिकास बन्जाडोले बताए । गगनलाई निर्वाचित गराउन प्रतिद्धन्द्धी शर्माले गरेको भुल पनि एक कारक रहेको अधिकृत बन्जाडेले बताए ।

शर्मा निर्वाचनमा अधिक ब्यस्त रहेको कारण आफैले आफ्नो मत हाल्न बिर्सेका थिए । जापानको याकोहामा ईन्टरनेशनल युनिभर्सिटीबाट २०१७ मा सेन्सर नेटवर्क विषयमा गगनले विद्याबारिधी गरेका थिए । कपिलवस्तु नगरपालिका–३ बरन्डीहवाका गगनले आफूलाई जिताउन भाग्यसहित कडा मिहिनेत र रणनीतिले साथ दिएको बताए ।

राजीनीतिमा रुची राख्ने उनले कांग्रेसलाई सुदृढ बनाउन र पार्टीमा जनताको एजेन्डा स्थापित गराउनका लागि आफू राजनीतिमा लागेको बताए ।

तौलिहवाको गौढी चोकमा सानो मार्ट पसल सञ्चालन गर्दै आएका गगनले पार्टीकै बिचारबाट देश चलिरहेको वर्तमान परिपेक्षमा पार्टी मै राम्रो एजेन्डा स्थापित नगरी देश राम्ररी चल्न नसक्ने उनले बताए ।

‘कांग्रेसलाई मजबुद बनाउन र राम्रो एजेन्डा स्थापित गराउन भरपुर प्रयास गर्नेछु’, उनले भने । गगनकी आमा बसन्त कुमारी सिंहले आफनो छोराले पार्टीमा केही गरेर देखाएको हेर्न चाहेको बताइन् ।

उता कपिलवस्तुको ९६ वडामा भएको अधिवेशनमा अधिकांश स्थानमा सहमित भएको र केही स्थानमा सहमति हुन नसकेपछि निर्वाचन भएको केन्द्रीय प्रतिनिधि घनश्याम पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV