८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । छिमेकी राष्ट्र भारतको केन्द्रीय राजधानी दिल्लीको रोहिणी अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार शुक्रबार दिउँसो मोस्ट वान्टेड ग्याङस्टार जितेन्द्र उर्फ गोगीको गोली हानी हत्या गरिएको हो ।

त्यसलगत्तै उक्त अदालत परिषरमै भएको शूटआउटमा अन्य दुई जना आक्रमणकारीको पनि हत्या गरिएको छ । उक्त शूटआउटमा जम्मा तीन जनाको मृत्युको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हत्या गरिएकामध्ये एक जना जितेन्द्र उर्फ गोगी रहेका छन्, भने अन्य दुई जना भने जितेन्द्रलाई आक्रमण गर्न आएका थिए । भारतीय स्पेशन सेलको जवानहरुले उनीहरु दुवै जना आक्रमणकारीलाई गोली हानेका हुन् ।

यस घटनाको अनुसन्धान ज्वाइन्ट कमिश्नर नार्थले गर्नेछन् । त्यस्तै सो अनुसन्धान रिपोर्टलाई दिल्ली पुलिस कमिश्नर राकेश आस्थानालाई जिम्मा लगाइने बताइएको छ ।

जितेन्द्र उर्फ गोगी तिहाड जेलमा थिए, भने उनलाई शुक्रबार (आज) पेशीका लागि अदालत ल्याइएको थियो । सोही अवसरमा रोहिणी अदालत परिसरमै दुई जना आक्रमणकारीले उनको गोली हानी हत्या गरेका हुन् ।

रोहिणी अदालत परिषरमा भएको फायरिङ पछि सो इलाकालाई सिल गरिएको छ । उक्त घटनाको क्रममा भएको भागदौडमा एक महिला वकिल पनि घाइते भएकी छन् ।

दिल्ली पुलिसका अनुसार वकिल बनेर उक्त दुई जना आक्रमणकारीहरु अदालत परिषरमा प्रवेश गरेका थिए । स्पेशल सेलको टिमले जितेन्द्रलाई अदालतको कोठामा लिएर जाँदै गर्दा आक्रमणकारीहरुले गोली हानी उनको (जितेन्द्र)को हत्या गरेका बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीको टिल्लु ग्याङले जितेन्द्रको हत्या गरेको हो । आक्रमणकारी मध्ये एक जना राहुल भएको र अर्काको नाम भने खुलाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV