८ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । सहकारी त थिए र छन् पनि । कति बदनाम छन् कति त गायब नै भए । अब सहकारी नभई विकास बैंकहरु समेत बदनाम सहकारीको लाइनमा पंक्तिबद्ध बन्ने संकेत देखिएको छ । बैंक र सेवाग्राहीबीचको समन्वय र विश्वास धेरै ठाउँमा खलल पर्न खोज्दा केही यस्ता बैंकहरुरु पनि देखिन थालेका छन् जस्ले बैंकप्रतिको विश्वास सेवाग्राहीबाट बढारिने सम्भावना बढेको छ । बिभिन्न काण्डले चर्चामा आइरहने महालक्ष्मी विकास बैंकमा घटेको पछिल्लो घटनाले आम नेपाली नागरिकले जीब्रो टोक्नु पर्ने अवस्था आएको छ ।

सेवाग्राहीले धितो राखेको सुनलाई पित्तल बनाउन सक्ने महालक्ष्मी विकास बैंकले दिउँसै रात पार्न माहिर मानिएको छ । पछिल्लो समय बैंक नै नदेखेका ३ जना युवाहरुलाई करोडौं कर्जा प्रवाह गरेको भन्दै महालक्ष्मी विकास बैंकले ऋण तिर्न आउने सूचना नै प्रकाशित गराएको छ ।

बैंकिङ साक्षरताको अभावमा धेरै नेपालीले ठगिनु पर्ने अवस्था विद्यमान हुँदा फोटो र नागरिकताको फोटोकपीको भरमा करोडौं ऋण प्रवाह गर्र्ने बैंकहरु पनि बढ्दो छ । सर्लाही, सिरहा, रामेछाप र दोलखाका गरीब नेपाली जो एक हजार रुपैयाँको नोट छाम्न पनि भाग्यलाई पुकार्नु पर्ने अवस्थामा छन । उनीहरुको नाममा पनि करोडौं ऋण प्रवाह हुँदा नियम कानून केही नहेर्ने बैंकहरु त्यही नियम र कानूनको ठेली पल्टाएर तिनै गरीबको घरको भित्तामा सूचना टाँस्न जाने प्रवृति बढ्दै गर्दा काठमाडौं उपत्यकामा नै तीन युवा महालक्ष्मी विकास बैंक र बैंक माफियाहरुको चंगुलबाट नराम्ररी फसेका छन् ।

तीन गरीब युवा, जस्लाई बोकोइयो करोडौँ ऋणको भारी 

गरिबीको चेपुवामा परेका उपत्यका बाहिरका तीन युवाहरु कमाउने सपना साँचेर ललितपुरको सातदोबाटो स्थित शिखा ज्वेलर्समा काममा जुटे । सुनका गरगहना बनाउने काममा जुटेका उनीहरु मध्ये धेरैको काम लकडाउनले चौपट बनायो । केही लकडाउन भएपछि गाउँतिर लागे त कोही अरु नै रोजगारी खोज्दै भौतारिए ।

तर यसरी शहर छाडेका तीन जना युवालाई भने शहर भित्र उनीहरुको नाममा यस अघि नै भइसकेको षडयन्त्रले शहरमा नै तानेको छ । उनीहरु मध्ये सिन्धुलीका भीम विश्वकर्मा, भोजपुरका धर्मभक्त राई र धनकुटाका अगमबीर लिम्बूको टाउको भने लाखौ लाखको ऋण थोपरिएको छ । न बैंक देखेका छन् नत सुको ऋण नै कसैसंग लिएका छन् । तर नखाएको विषले पनि अहिले उनीहरुलाई पोलिरहेको छ । भीमको टाउको ९५ लाख, ५२ हजार सात सय अठ्चालीस रुपैयाँ, राईको थाप्लोमा १ करोड ९४ लाख १ सय ११ रुपैयाँ ७३ पैसा र अगमबीर लिम्बूको शीरमा १ करोड तीन लाख ७२ हजार रुपैयाँ २ सय चवन्न पैसा ऋण छ ।

कसरी थोपरियो ऋणको भारी ?

शिखा ज्वेलर्समा नै कामको क्रममा ज्वेलर्सका सञ्चालक देवानन्द राईले उनीहरुसंग फोटो र नागरिकताको फोटोकपी मागेका थिए । ज्वेलर्स र उनीहरुको हितको नाममा मागिएको त्यो फोटो पछि गएर महालक्ष्मी विकास बैंकको ऋणको ढड्डामा टाँसिएछ । ज्वेलर्स छाडेर गाउँतिर लागेका उनीहरु त्यतिखेर छाँगाबाट खसे झै भए जतिखेर उनीहरुको नाममा ऋण तिर्न आउनु भन्ने पत्रसहित सूचना आयो । त्यो पत्र पछि यिनीहरु बिभिन्न निकायमा धाए तर कतैबाट केही लागेको छैन । उनीहरुले निर्दोषिताको प्रमाण धेरै तिर पेश गरे तर बैंकको ढड्डामा टाँसिएको फोटो र फोटाकपी भने उनीहरुका लागि महंगो बन्यो ।

त्यो सुनकाण्ड र यी निर्दोषहरू

२०७४ सालमा १७ किलो सुन तमसुकमा चढाएर देवानन्द राइले महालक्ष्मी बिकास बैंकको कुमारीपाटी शाखाबाट झन्डै ७ करोड ४२ लाख रुपैयाँ ऋण लिए । राईले आफ्नो व्यवसायिक साझेदार पूर्ण राईसहित आफ्नो ज्वेलर्समा काम गर्ने केही कर्मचारीहरुको नाममा पनि पटक पटक गरी ऋण लिए । नियत खोटो भएका राईले ऋण नतिरेपछि ठूलो रकम ऋण प्रवाह भएको र त्यस्को व्याज समेत असुली नभएकोबारे नेपाल राष्ट्र बैंकले चासो देखाएपछि यो घटना सतहमा आयो । पछि त्यो १७ किलो सुनबाट पनि १२ किलो सुन गायब भएको पाइयो ।

यति ठूलो घोटाला र चलखेलमा ऋणि राई मात्र नभइ बैंकका कर्मचारी पनि अनुसन्धानमा तानिए । यसकाण्डका मुख्य दोषी भने देवानन्द राई र बैंकका खजाञ्जी पदम ज्ञवाली ठहरिए । ज्ञवाली सो काण्ड सतहमा आउने वित्तिकै गायब छन् देवानन्द राई भने थुनामा छन् । यही घटनासग जोडिएका यी तीन जनाको अवस्था भने अहिले नाजुक छ ।

बैंकहरु यति साह्राे गैरजिम्मेवार कसरी बने ?

एउटा मोटरसाईकल लिनका लागि ऋण झिक्दा बैंकहरुमा १० वटा कडा र झन्झटिलो प्रक्रिया पूरा गर्नु पर्छ । यस्तो अवस्थामा बैंकहरुले एकप्रति नागरिकताको फोटोकपी र एउटा फोटोको भरमा कसरी करोडौ कर्जा प्रवाह गर्छ भन्दा पत्याउन गाह्राे पर्छ । तर महालक्ष्मी विकास बैंकका सूचना अधिकारी ध्रुबराज तिवारी भने मुद्दा अदालतमा भएको वहानामा केही बोल्न मान्दैनन् ।

यता महालक्ष्मी विकास बैंकका कुमारीपाटी शाखाका प्रबन्धक भने आफु नयाँ भएकोले केही थाहा नभएको वहानावाजी गरेर बोल्न समेत मानेनन् ।

सुनलाई पित्तल बनाउने बैंक

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखालाई आफैमा बदनाम छ । ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले २०७२ सालमा २५ तोला सुन धितोमा राखि महालक्ष्मी बैंकबाट ८ लाख ५४ हजार रुपैयाँ ऋण लिएकी थिइन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकका कर्मचारीले सुन त ‘पित्तल बनिसक्यो’ भनेर चप्काउन खोज्दा भएको काण्ड अझै सेलाएको छैन । यसरी कुख्याति कमाएको यो बैंकले ठगेका यी तीन युवाहरुको हकमा भने अदालतले कस्तो पैmसला सुनाउला प्रतीक्षा गर्नै पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV