७ आश्विन २०७८, बिहीबार

रौतहट। प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने शुसिला थापा रहेकी छिन् । थापाले रौतहटको गरुडा नगरपालिकाको विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिन भन्दै पर्सा मणिपुरका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माग गरेको अडियो सार्वजनिक भएको थियो ।

अडियोमा उनले पाण्डेलाई ‘तिमीले सोचेको भन्दा बढि डिमाण्ड आयो के गर्ने ?’ भनेर सोधेकी छिन् । उनले ६ लाख भन्दा घटिमा काम नहुने र तीनजना (प्रिन्सिपल, डिआइजी र अर्को एकजना) मिलेर गर्ने रहेछन् भन्दै पाण्डेसँग सो रकम माग गरेकी छिन् ।

पाण्डेले जवाफमा आफ्नो स्थायी हुन्छ भने कुरा गर्नुहोस् म सो रकम दिन्छुँ भनेका छन् । यो संवाद लगतै डिआइजी रंजीतकारले फोन गर्नुभयो है भन्दै थापाले फोन काटेकी छिन् ।

दोस्रो कलमा उनलाई पाण्डेले बैंकमा रसिद जम्मा गरेको फोटो म्यासेन्जरमा पठाइदिने भनेका छन् भने थापाले रसिदको फोटो हेरेर मात्र काम अगाडि बढ्ने जिकिर गरेकी छिन् ।

यो अडियो बाहिरिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको र डिआइजीको नाम लिएर पैसा उठाएको आरोपमा थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए । उनले प्रारम्भिक अनुसन्धानमा थापाको डिआइजी रंजीतकारसँग कुनै चिनजान नरहेको र पाण्डेको मिलोमतोमानै सो अडियो प्रकरण बनाइएको पाइएको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

पक्राउ परेकी थापालाई अभद्र व्यवहार अन्तर्गत मुद्धा दर्ता गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालयकले विभिन्न संचारमाध्यममा डिआइजी रंजीतकारको नाम जोडेर उनकै मिलोमतोमा थापाले पैसा उठाएको समाचार प्रकाशन भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो समाचार आधारहिन, झुठा, कपोल्कल्पित, भ्रामक, संगठनप्रति बदनामी गराउने तवरको भएको प्रतिक्रिया दिएको छ ।

कार्यालयले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त समाचारहरुमा कुनै पनि सत्यता नरहेको भन्दै थापालाई डिआइजीको नाम जोडेर निहित स्वार्थ राखी व्यक्तिगत आर्थिक लाभ गर्ने उद्देश्यका लागि काम गर्न खोजेकोले पक्राउ गरिएको र उनलाई कसुर अनुसारको कानुनी कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV