७ आश्विन २०७८, बिहीबार

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उहाँका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज यहाँ ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो ।

प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गर्नुभयो ।

प्रतिष्ठानकै योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले गौरी (खण्डकाव्य) वाचन गर्नुभएको थियो । कूलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकविका प्रकाशन गर्न बाँकी रचनालाई प्रतिष्ठानले प्रकाश गर्ने र अन्य प्रकाशित रचनालाई समेत व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपकुलपति जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय र साहित्यकार रमा शर्माले राष्ट्रकविका व्यक्तित्व तथा कृतित्वबारे चर्चा गर्नुभयो । राष्ट्रकविको २०७७ साल भदौ ५ गते १०१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV