७ आश्विन २०७८, बिहीबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच संशोधित बजेट दुवै सदनबाट पारित भएको छ ।

नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि त्यसलाई कार्यान्वयनमा लगिनेछ ।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सार्नुभएकाे थियाे ।

अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV