७ आश्विन २०७८, बिहीबार

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप धनी देशले बाँडेनन् भने २५ करोड मात्रा खेर जाने खतरा रहेको जनाइएको छ।

बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड सम्मेलनमा विश्वभरका नेताहरूसामु विश्वको ७० प्रतिशत जनसङ्ख्यालाई अर्को वर्षको सेप्टेम्बरसम्म खोप दिइसकिने बताए।

राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप बाँड्ने वाचा गरे पनि अहिलेसम्म १४ करोड मात्र खोप दिएका छन्।

केही देशहरूले आफ्नो जनसङ्ख्याको दुई प्रतिशतलाई पनि खोप दिन नसकेको अवस्थामा धनी देशहरूसंग मिति गुज्रन लागेका धेरै खोप रहेको अध्ययनहरूले जनाएका छन् ।

कोभिड खोपको चर्को असमान वितरणको तथ्याङ्कले अझै विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले एउटा मात्रा पनि लगाउन नपाएको देखाउँछ।

ह्युमन राइट्स वाचका अनुसार ७५ प्रतिशत कोभिड खोप १० देशमा पुगेका छन्।

द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको आँकडा अनुसार अहिलेसम्म बनेका कोभिड खोपमध्ये आधा जसो विश्वका १५ प्रतिशत मानिसहरूसम्म पुगेको छ।

विश्वका धनी देशहरूले गरिब देशका तुलनामा १०० प्रतिसतसम्म बढ्ता खोप लगाएका छन्।

जुन महिनामा जी–सेभेन सदस्य राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिकाले अर्को वर्ष गरिब देशहरूका लागि एक अर्ब मात्रा खोप दान गर्ने बाचा गरेका थिए।

यूकेले १० करोड खोप बाँड्ने वाचा गरे तापनि उसले अहिलेसम्म ९० लाखभन्दा कम दान गरेको छ।

युरोपेली सङ्घले २५ करोड खोप बाँड्ने बताए तापनि अहिलेसम्म आठ प्रतिशत मात्र त्यस्तो खोप पठाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV