६ आश्विन २०७८, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बिहीबार) सम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रचण्डको भनाई उद्धृत गर्दै महराले भने, ‘बुधबार बैठकमा अध्यक्षले समसामयिक विषयमा रिपोर्टिङ गर्नुभयो, त्यस क्रममा सरकार विस्तारको विषय अध्यादेशले ढिलो भयो, अव यसलाई टुङ्ग्याएर भोलिभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ भन्नुभएको छ ।’

२० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन पनि लागिएको छ । प्रवक्ता कृष्णबहादुर महराले हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने संकेत गरे ।

उनले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV