६ आश्विन २०७८, बुधबार

एजेन्सी । अमेरिकामा घोडामा बसेर सुरक्षाकर्मीहरुले आप्रवासीहरूलाई लखेटेका तस्वीर तथा भिडिओहरूले देशभरि विवाद सिर्जना गरेको जनाइएको छ।

बीबीसीका अनुसार अमेरिकी सीमा सुरक्षाकर्मीहरूले घोडामा बसेर टेक्ससको रियो ग्रान्डी नदीनजिकै आप्रवासीहरूलाई लखेटेका तस्वीर तथा भिडियोहरूले देशभरि विवाद सिर्जना गरेको हो।

अमेरिका–मेक्सिको सीमामा एउटा नयाँ आप्रवासी सङ्कटबीच त्यस्ता दृश्यहरू देखा परेका बताइएको छ । गत साता टेक्ससको शहर डेल रियोलाई सिउड्याड अक्युनिआसंग जोड्ने पुलमुनि धेरैजसो हेइटीका १२ हजार आप्रवासी अस्थायी शिविर बनाएर बसेका छन्।

आप्रवासीहरूले झेलेको दयनीय अवस्थाबारे आलोचना भएपछि गत साता अमेरिकी अधिकारीहरूले एउटा विज्ञप्तिमा भनिएको थियो, ‘तापक्रमसंग जोडिएका रोगहरू फैलन नपाऊन् भनेर डेल रियो अन्तर्राष्ट्रिय पुलमुनि उनीहरू (यूएस बोर्डर पेट्रोलले) हिरासतमा लिनुअगावै ओत लिएर अस्थायी रूपमा बसेका थिए।’

अमेरिकी सरकारले आइतवार तीमध्ये सयौंलाई उनीहरूको देश फिर्ता पठाउनुका साथै डेल रियो सीमा बन्द गरेको थियो। त्यसलाई हाइटीका अन्य सयौं नागरिकलाई मेक्सिकोतिरै फर्कन प्रेरित गर्ने कदमका रूपमा हेरिएको छ।

अस्थायी शिविरमा फर्कनुअघि पुलमुनि बसेका केही आप्रवासीहरू आफू र परिवारका लागि पानी र खानेकुराहरू किन्न मेक्सिकोतर्फ जाँदै गर्ने समयमा एएफपी समाचार संस्थाका फोटोग्राफर पल रात्जीले उक्त तस्वीरहरू खिचेका थिए।

अचानक केही प्रहरीहरू देखा परे र उनीहरूले मानिसहरूलाई लखेट्न थालेको र त्यसपछि घोडामा आएका केही गस्ती प्रहरीले पनि आएर त्यसो नै गरेको ती फोटोग्राफरले द वासिङ्टन पोष्ट पत्रिकालाई बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV