६ आश्विन २०७८, बुधबार

रौतहट । रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीले अनुगमनको रकममा अनियमिता गरेको खुलेको छ ।

उनीहरुले एकदिन अनुगमन गरेको १ हजार भत्ता लिने कार्यविधि लत्याउँदै एक पटक अनुगमन गरेको १ हजार लिएका हुन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको सो नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षणको प्रतिवेदन अनुसार अनुगमन समितिका ६ जना सदस्यहरु २०७६ माघ २७ देखि २०७७ जेठ २९ सम्म विभिन्न मितिमा १९ दिन अनुगमन गएका थिए । उनीहरुले १९ दिनमा ५१ पटक सम्म अनुगमन गरेकोमा ५१ पटकको १ हजारको दरले एकजनाले ५१ हजार लिएको प्रतिवेदनमा उल्लेख छ । सो समितिका सदस्यहरुले एकै दिनको ७ पटकसम्मको अनुगमन खर्च दावी गरि सो अनुसार भुक्तानी लिएको प्रतिवेदनले खुलाएको छ ।

नगरपालिकाले अनुगमनमा जाने पदाधिकारी तथा सदस्यहरुलाई अनुगमनमा जादा आतेजाते वापत प्रति सदस्य १ हजारका दरले भुक्तानी दिने व्यवस्था गरेको छ ।

एकै दिनमा जतिपटक अनुगमन गरेपनि पालिकाका वडाहरुमा अवस्थित योजनाको भौगोलिक दुरी भ्रमण खर्च नियमावली अनुकूल नभएकोले बढी खर्च दावि गर्ने र भुक्तानी दिन नमिल्ने भएपनि उनीहरुले अनुगमन वापत प्रति सदस्य ३२ हजार बढि लिएका हुन् ।

महालेखाले कार्यपालिकाको निर्णय अनुसारको प्रति अनुगमन रु १ हजारका दरले हुने रकम १ लाख ३३ हजार कटाउँदा समेत बढी हुन गएको रकम २ लाख २४ हजार रकम असुल गर्न प्रतिवेदन मार्फत निर्देशन दिएको छ ।

सो प्रतिवेदन अनुसार यसरी बढि रकम लिनेहरुमा नगर प्रमुख रामचन्द्र चौधरी , उपप्रमुख रामरत्ती चाधरी , कार्यपालिका सदस्य दुर्गा आर्चाय , कार्यपालिका सदस्य उपेन्द्र राम , तत्कालिन प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल , नगरपालिका कर्मचारीहरु भरत प्रसाद श्रीवास्तव र मिश्रीलाल साह रहेका छन् ।

यता नगरपालिकाका इन्जिनियर विजय कुमार यादवले वडा कार्यालयमा जाँदा पनि भ्रमण भत्ता लिएको महालेखाको प्रतिवेदनबाट खुलेको छ । सो प्रतिवेदन अनुसार भ्रमण खर्च नियमवाली २०६४ मा नगरपालिका भित्र भ्रमणमा जाँदा दैनिक तथा भ्रमण खर्च दिने व्यवस्था नभएको साथै यातायात सुविधा प्राप्त ठाउँमा एकै दिन गइ फर्किने सकिने स्थानमा भ्रमणमा जाँदा खाजा खर्च स्वरूप भ्रमण खर्च र दैनिक भत्ताको पच्चीस प्रतिशत दिने कानुनी व्यवस्था भएकोमा इन्जिनियर यादवले विभिन्न वडामा भ्रमण गएको भनि भ्रमण खर्च स्वरुप २० हजार ३ सय भुक्तानी लिएका हुन् ।

यसरी नगरपालिका भित्रका वडामा भ्रमण गर्दा भ्रमण खर्च पाउने नदेखिएकोले उनले भ्रमण खर्च वापत लिएको सो रकम असुल गरी दाखीला गनुपर्र्ने महालेखाको प्रतिवेदनमा भनिएको छ ।

यसरी काजग मिलाएर कानुनले तोकेभन्दा बढि भत्ता लिनु नितिगत भ्रष्ट्रचार भएको भन्दै यसको छानविन हुनुपर्ने नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सचिव राजु तिवारीको भनाइ छ । उनले जनताको करबाट उठेको रकम जनप्रतिनिधि र कर्मचारीले कागज मिलाएकै भरमा विभिन्न बहानामा लिने कार्य गलत भएको भन्दै यस्ता गलत कार्यहरुको बारेमा सरोकारवाला निकायले छानविन गरेर दोषी उपर कारवाहीको माग गरे ।

भत्ता लिनेमा मेरो नाम कसरी आएछ :  नगर प्रमुख चौधरी
नियम विपरित थप ३२ हजार भत्ता लिएको महालेखाको लेखा परीक्षणको प्रतिवेदनमा नगर प्रमुख रामचन्द्र चौधरीको पनि नाम छ । तर नगर प्रमुख चौधरीले भने आफुले सो रकम लिदैँ नलिएको दावी गर्छन् । उनले आफुले लिदैँ नलिउको रकम कसरी आफ्नो नाममा आयो भनेर लेखा शाखाले जानकारी गराएपछि आफु छक्क परेको सुनाए ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षणको काम उपप्रमुखको नेतृत्वमा हुन्छ ’ उनले भने ‘ त्यसमा मेरो केहीँ भूमिका हुँदैन् तर पनि भत्ता लिनेमा मेरो नाम आएको रहेछ । यसलाई सच्याउन महालेखाको कार्यालयमा पत्र लेखेर पठाएको छुँ ।’

नियम बमोजिमनै भत्ता लिएका हौँ :उपप्रमुख चौधरी
नगरमा सम्पन्न विकास निर्माणको कार्यको अनुगमन गरे वापत योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण कार्येका संयोजक उपप्रमुख रामरत्ती चौधरी आफुहरुले नियममा पाउने भत्ता मात्र लिएको दावी गर्छिन् । उनले आफुहरुले अनुगमन गरेका योजनाहरुको रेकर्ड राखेर सोही बमोजिक पाउने भत्ता लिएको दावी गर्दै बढि भत्ता लिएको भनेर कसरी आयो आफु अनविज्ञ रहेको बताइन् ।

‘कहाँ कहाँ , कहिले कहिले अनुगमन गरेको हो त्यसको सबै रेकर्ड छ’ उनले भनिन् , ‘ सोही रेकर्डको आधारमा पाउने भत्ता मात्र हामीले लिएका हौँ , बढि लिएका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV