६ आश्विन २०७८, बुधबार

गुल्मी । उनी हुन्, तिलक परियार । पेशा, टेलर पसल अर्थात् सिलाइबुनाइ । अहिले उनी गुल्मीको सदरमुकाम तम्घासमा ‘टेलर पसल साहुजी’ प्रख्यात छन् । टेलर पसल साहुजी बन्न र तम्घासमै पक्की घर बनाएर बस्न उनले थोरै संघर्ष गर्नुपरेन । र, संघर्षकै प्रतिफल आज उनी यो स्थानमा छन् ।

कपडा सिलाउने पुर्खेयौली पेशाबाटै गरिवी र अभावबाट उनले पाठ सिके । ५ छोरीहरुमध्ये एउटी छोरीको विवाह भइ सकेको थियो । अन्य चार छोरीहरु पढ्दै र बाबुसँगै रम्दै, गफ गर्दै कपडा सिलाउने काम पनि सिक्दै थिए ।

छोरीहरु गंगा, जमुना र भावना

तर, हिजो साँझ परिवारमा अचानक खुशीको दियो निभ्यो । निरन्तर वर्षा परिरहेको थियो । परिवार साँझको खान खाइवरी बिछ्यौनामा दिनभरको थकान मेटिरहेको थियो । बाहिर झरी भने झनै बेजोडले बर्सिरहेको थियो ।

परिवार मस्त निन्द्रामै भएको अवस्थामा आएको पहिरोले क्षणभरमै परिवारको खुशी खोसेर लग्यो । अहिले तिलक चिन्ताको गहिरो खाडलमा डुबेका छन् । तिलकलाई पसलमा काम सघाउने उनका ३ छोरी पहिरोमा पुरिएर प्राण त्यागे ।

पहिरोमा पुरिएर छोरीहरु भावना, गंगा र जमुनाको मृत्यु भएको छ । हिजो साँझ छोरी भावनाले बाबुलाई सघाएर पसलबाट घर फर्किएका थिए । साँझ खान खाइसकेपछि परिवारका सबै सदस्य मीठो निद्रामा परे । तर, उनीहरुलाई घर माथिबाट काल बनेर आएको पहिरो पत्तै भएन ।

मीठो निद्रामै तिलकबहादुर र उनी श्रीमतीले पहिरो आएको थाहा पाए । दुवै जना चिच्चाउँदै बाहिर निस्केर छोरीहरु सुत्ने कोठातिर दौडिए । कोठा पहिरोले पूरै पुरिएको थियो । २१ बर्षीया छोरी भावना, १४ बर्षीया दुई जुम्लिया छोरी गंगा र जमुना निर्जीब भइसकेका थिए ।

तर, १७ बर्षीया साईली छोरी सुजताको भने दुवैले ढुकढुकी भेटे । छिमेकी ईश्वर बिक भन्छन्–‘हाम्रो र उहाँहरुको घर दुई चार मिटरभन्दा धेरै टाढा छैन । राति ११ बजेर ४० मिनेटको कुरा हो । मुसलधारे पानीसँगै हाम्रो घरको अगाडी पनि पहिरो बग्दै थियो ।

अन्धकार भएकाले केहि देखिएन । पल्लो घरमा चिच्चाएको आवाज सुनिन्थ्यो । पछि थाहा भयो, सुजताबाहेक सबै छोरी पहिरोले पुरिएछन् । हामीले चाहे र पनि केही गर्न सकेनौँ ।’

सुजाता माध्यामिक तहको शिक्षा हाँसिल गर्दै बाबु सँगै कपडा सिलाउने गर्दै आएका थिए । दुई छोरी गंगा र जमुनाले तम्घासकै महेन्द्र नमुना माध्यामिक विद्यालय कक्षा ८ मा पढ्दै आएको शिक्षक रोम बिश्वकर्मा बताउँछन्।

पहिरोले पुरिएको घर देखि केही मिटरको दूरीमा प्रहरी कार्यालय छ । प्रहरीको कार्यालयदेखि केही दूरीमा नेपाली सेनाको ब्यारेक छ । राति आएको भीषण पहिरोले प्रहरी र सेनाले पनि ढिलै गरि सूचना पाएका थिए । पछि घटनास्थलमा आउँदा पहिरोमा शव पुरिसकेको थियो ।

पहिरोमा पुरिएको शव निकालियो । छोरीहरुको पहिरोमा मृत्यु भएपछि तिलक दम्पत्तिको आँखाबाट आँशुको भेल छुटिरहेको थियो । छिमेकीहरु दुवैलाई सम्झाई रहेका थिए ।

तिलकबहादुरको पुख्र्याैली घर गुल्मीदरवार गाउँपालिका–२ झिरबास हो । जहाँबाट उनी सरेर सदरमुकाम तम्घास (रेसुङ्गा नगरपालिका–८) का बासिन्दा हुन् ।

तम्घासकै थुम्का टोलमा घडेरी किनेर १२ वर्ष अघि एक तले पक्की घर बनाएर बसेका उनको घरबार अहिले पहिरोले उजाडिदिएको छ ।

वडाका वडाध्यक्ष भरत भलामीले सुरक्षित वस्तीमा उनीहरुलाई स्थानान्तरण गर्न कदम अघि बढाएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV