६ आश्विन २०७८, बुधबार

काठमाडौं । गत शनिबार एकै दिन मलेसियाबाट ६ नेपाली श्रमिकको शव देश ल्याइयो । शवसंगै अन्य १५ नेपाली श्रमिकको अस्तु पनि नेपाल आइपुग्यो । मलेसियामा मृत्युवरण गरेका यी २१ मृतकहरु मध्ये एक जना २० बर्षदेखि नेपाल नआएका पनि थिए ।

परिवारका पछिल्ला पुस्ताका सदस्यहरु एव उनका छोराछोरीहरुले आफुहरुले आफ्नो बुबाको मुख अहिलेसम्म हेर्न नपाएको भन्दै रोइकराई गरेपछि ती व्यक्तिको शव पनि नेपाल ल्याइएको हो ।

कानूनी र झन्झटिलो सरकारी प्रक्रियाले गर्दा विदेशमा मृत्युवरण गरेका नेपालीको शव ल्याउन सहज छैन् । यो जटिलता फुकाउनतर्फ पनि सरकारले ध्यान दिन सकेको छैन ।

अहिले हरेक दिन सरदर दुई नेपाली श्रमिकको शव आउछ विदेशबाट । यो कहाली न्यूनीकरणका लागि कुनै प्रयास हुन सकेको छैन् । विदेशमा नेपालीहरु कामदाहरुको मृत्युको कारण खोजियो । तर त्यस्को न्यूनीकरणका लागि दिइएको सुझाव पटक्कै ग्रहण गरिएन ।

नेपाली श्रमिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि सुझाव दिन सरकारले आप्रवासन स्वास्थ्य नीति तय गर्न गठन गरेको प्राविधिक समितिले दुई बर्ष अघि सुझावसहित प्रतिवेदन पनि बुझायो । समितिले श्रम गन्तव्य मुलुकहरुमा रहेका दूतावासमा चिकित्सक र नर्स राख्न सुझाव पनि दियो ।

नेपाली श्रमिकहरू काम गर्न जाने गरेको गन्तव्य मुलुकहरूमा कामदार संख्याको आधारमा स्वास्थ्य सहचारी नियुक्त गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटियो । सरकारलाई बुझाएको उक्त प्रतिवेदन कता छ थाहा छैन तर विदेशबाट नेपाली श्रमिको शव आउने क्रम भने टुटेको छैन ।

भाषाको समस्याले पनि अस्पताल पुगेका धेरै नेपाली श्रमिकले आफुुलाई परेको समस्या भन्न सक्दैनन् । भाषाको कारणले नेपालीले अस्पताल पुगेर पनि ज्यान गुमाउनु पर्ने पीडा एकातिर छ भने जुनसुकै रोग र विरामीका कारण मृत्युवरण गर्दा पनि हृदयघात लेखिदिने गर्दा नेपाली श्रमिक पाउनु पर्ने क्षतिपूर्ति पनि गुमाउँदै आउनु परेको छ ।

हरेक बर्ष सरदर ९ सयको हाराहारीमा नेपाली श्रमिकले विदेशमा ज्यान गुमाउँदै आएका छन् । यो मृत्युदर घट्दो होइन बढ्दो छ । साउदी अरेबिया, कतार, मलेसिया, ओमान, कुवेत र संयुक्त अरव इमिरेट्स नेपालीले ज्यान गुमाउने प्रमुख देश बनेका छन् । यस अलावाका दक्षिण कोरिया, बहराइन र इजरायलमा पनि ज्यान गुमाउने नेपाली श्रमिकको संख्या बढ्दो छ । एम्नेस्टी इन्टरनेसनलले कतारमा रहेका आप्रवासी कामदारको बारेमा गरेको अध्ययनमा पनि नेपाली श्रमिकको अवस्था दयनीय भएको चित्रण गरिएको छ ।

कतारमा पछिल्लो १० बर्षमा १ हजार ८ सय नेपालीले ज्यान गुमाएको तथ्य सार्वजनिक गर्दै एम्नेष्टीले नेपाली श्रमिकमाथि भइरहेको शोषणको अश्रुमय प्रतिवेदन नै सार्वजनिक गर्यो । चर्को गर्मीमा काम गर्नु पर्दा धेरै नेपाली श्रमिकहरु सुतेको ओछयाउबाट भोलिका दिन विउझिदैनन ।

यो कहाली कतारमा मात्र नभइ हरेक खाडी मुलुकका बढ्दो छ । कतार सरकार स्वयंले सन् २०२१ मेमा अत्याधिक गर्मीमा आप्रवासी कामदारलाई बाहिरी काम नलगाउन कानून नै जारी गर्यो । तर यो कानून मिचेर नेपालीलाई बर्बर तवरबाट चर्को गर्मीमा पनि काममा लगाइयो ।

यही कारण धेरै नेपालीले कतारको गर्मीसंगै आफ्नो इहलीला पनि समाप्त गर्न विवश बने । त्यसमाथि मृत्यु पछि हृदयघात र फोक्सोले काम नगरेको भनेर लेखिदिन्छन चिकित्सकले ।

प्राकृतिक कारणले मृत्यु भएको भन्दै अस्पतालले रिपोर्ट दिने गर्दा अधिकांश नेपाली रोजगारदाता कम्पनीबाट क्षतिपूर्ति पाउन बञ्चित छन ।

एम्नेष्टी इन्टरनेशनलले कतारमा ज्यान गुमाएका आप्रवासी नेपाली श्रमिकबारे चासो देखाउँदै मृत्यु प्रमाणपत्र जारी गर्नुअघि गम्भीर अनुसन्धान गर्न कतार सरकारलाई आग्रह समेत गर्यो । तर नेपाल सरकार र उस्का निकायहरुले यसबारे न कुनै चासो देखाएका छन् नत कहिले सोध्ने गरेका नै छन् ।

यस्तो अवस्थामा नेपाली दूतावासमा स्वास्थ्य सहचारीको व्यवस्था गरिएको भए नेपाली श्रमिकको मरण किन मूल्यविहीन बन्थ्यो र सरकार ?

अध्याधिक गर्मीका बीच पनि काम गर्ने समय लामो हुँदा र शारीरिक श्रम बढी गर्नु पर्दा धेरै नेपालीले विदेशको तातो भूमिमा असमयमा नै ज्यान गुमाइरहेका छन् । त्यसमाथि २०२२ को विश्वकप फुटबलको आतिथ्यता गरिरहेको कतारमा बनेका आठवटा रंगशालामा सबैभन्दा बढी पसिना नेपालीको नै बगेको छ । र, धेरै नेपालीले मृत्युवरण पनि यही काममा गरेको एम्नेष्टीको दावी छ ।

कतारको रंगशाला मात्र नभइ विकास निर्माणको हरेक क्षेत्रमा नेपालीको श्रम नपरेको ठाउँ नै छैन । कतार मात्र नभइ धेरै देश नेपालीले नै बनाए । हङकङको चेप – ला – कोक नामको तीन वटा पहाड फुटाएर अहिलेको हङकङ इन्टरनेशनल एयरपोर्ट बनाउने नेपाली नै हुन् । तर दुर्भाग्य अहिले हङकङ जाँदा नेपालीले भोग्नु पर्ने अपमानको त कुरै नगरौं ।

सरकार लोभलाग्दो रेमिट्यान्समा मात्र नरमाउ । नेपाली श्रमिकलाई बचाउने तिर पनि अब गम्भीर बन्नु पर्यो सरकार । श्रम गन्तव्य भएका मुलुकहरुको स्वास्थ्य सहचारी राख्नै पर्छ । यस्मा आनाकानी र ढिलासुस्ती गर्ने छुट अब सरकारलाइै छैन् । गत शनिबार मलेसियाबाट फर्केकाहरुको शवसंगै भएको रुवावासी कम गर्न अब केही त सोच्नै पर्ने भयो ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV