५ आश्विन २०७८, मंगलवार

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लब रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशीला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशीपको उपाधि जितेका छन् । रत्नजित पुरुष एकलतर्फ तथा रशीला महिला एकलमा च्याम्पियन बनेका हुन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कको कोर्टमा मंगलबार भएको फाइनलमा शीर्ष वरीयताका रत्नजितले विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका आयोजक रिभाइव लिजर पार्कका प्रिन्स दाहाललाई २–१ को सेटमा हराउँदै च्याम्पियन बनेका हुन् ।

रत्नजितले प्रिन्समाथि २०–२२, २१–१९ र २१–१३ को जित निकाले । उपाधिसँगै रत्नजितले ५० हजार रुपैयाँ हात पारे । दोस्रो भएका प्रिन्सले २५ हजार रुपैयाँ तथा तेस्रो भएको प्रफुल महर्जन र साजन कृष्ण ताम्राकारले समान १०–१० हजार रुपैया हात पारे ।

महिला एकलतर्फ आर्मीकी रशीला महर्जनले आफ्नै क्लबकी अनु माया राईलाई २१–८, १७–२१ र २२–२० को जित निकालिन् । उपाधिसँगै रशीलाले ५० हजार रुपैयाँ हात पारिन् । दोस्रो भएकी अनुले २५ हजार रुपैयाँ तथा तेस्रो भएको जेसिका गुरुङ र अमिता गिरीले समान १०–१० हजार रुपैया हात पारे ।

शीर्ष २० देखि बाहेकका पुरुष युगलतर्फ मनकामना स्पोर्ट्स क्लबका बिशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीलाई २१–१६, १७–२१ र २१–१८ ले पराजित गर्दै उपाधि जित्न सफल भए ।

उपाधिसँगै बिशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले ५० हजार तथा दोस्रो भएको राम बाँनिया र सुजन थापाको जोडीले २५ हजार रुपैयाँ प्राप्त गरे । तेस्रो भएको प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा र विधान अधिकारी र विशाल खड्काको जोडीले समान १०–१० हजार रुपैया हात पारे ।
भेट्रान्स ४५ वर्षमाथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाँखे र चितवनका सुभास श्रेष्ठको जोडीले रिभाइज लिजर पार्कका रामशरण केसी र हरि खत्रीको जोडीलाई १९–२१, २१–१४ र २१–१९ ले पराजित गर्दै च्याम्पियन बने ।

उपाधिसँगै सुभास र अनिलको जोडीले २५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको रामशरण केसी र हरि खत्रीको जोडीले १५ हजार तथा तेस्रो भएको राम केसी र मिलान थापाको जोडी र किशोर व्यन्जनकार र सुदिन शाक्यको जोडीले समान ५-५ हजार प्राप्त गरे ।

१ असोजदेखि शुरु भएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा २ सय बढी खेलाडीले सहभागिता जनाएको थियो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, रिभाईव लिजर पार्कका सञ्चालक तथा आयोजक कमिटिका अध्यक्ष शुक्र पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, आयोजक कमिटिका लिला बहादुर थापा, ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV