५ आश्विन २०७८, मंगलवार

काठमाडौं । टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा.रेम कुमार राई ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । गत आइतबार संविधान दिवसको अवसरमा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा. राई ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका हुन् ।

राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पु¥याउने विदेशी नागरिक हरेक वर्ष संविधान दिवसको अवसरमा यस पदकबाट सम्मानित हुदै आएका छन् ।

‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित डा. राईले २०७२ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबाट स्नाकोत्तर गरेका हुन् । टीकापुर अस्पतालका सुपरिटेन्डेन्ट डा. राईले टीकापुर, लम्कीचुवा, जानकी, जोशीपुर, भजनलगायतका जनतालाई हाडजोर्नीका प्रत्यारोपण लगायतका जटिल शल्यक्रियाका सेवाहरु, हात–खुट्टा हड्डी भाँचिएका, हड्डी बाँगोटिङ्गो भएकाहरुलाई शल्यक्रिया गराई गुणस्तर सेवा दिदै आएका छन् ।

त्यस्तै उनले भर्खरै मात्र टीकापुरमा सरकारी स्तरमा पहिलो पटक हाडजोर्नी विभाग स्थापना गरी स्तरोन्नती गर्नुका साथै हाडजोर्नी समस्याका लागि अन्य जिल्ला रिफर भई जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरी टीकापुरमै सहुलियतपूर्ण र सर्वसुलभ सेवा दिन सफल भएका छन् ।

यस अगाडि डा. राईले त्रिशुली अस्पतालमा पनि २ वर्ष ५ महिना काम गरेका छन्, जहाँ उनले स्थानीय तहको सहयोगमा पीसीआर प्रयोगशाला स्थापना र सञ्चालनको लागि विज्ञ जनशक्ति, स्थान र उपकरणको छोटो समयमा व्यवस्थापन गर्न सफल भएका थिए ।

त्यस्तै उनले सो अस्पतालको आर्थिक चुहावट रोकी अस्पताल समितिलाई मजबुत बनाई कर्मचारीहरुलाई पारिश्रमिक श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सफल भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV