५ आश्विन २०७८, मंगलवार
  • महेश पाण्डे,

चितवन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र हेटौडाका अस्पतालमा सेवा थपेर काठमाडौंको विकल्प दिनुपर्ने धारणा ब्यक्त गरेकी छिन् । आज (मंगलबार) बकुलहर रत्ननगर अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिन तथा अक्सिजन प्लान्टको उद्धघाटन गर्दै मुख्यमन्त्री शाक्यले सो कुरा बताएकी हुन् ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरुको काठमाडौ जाने बाटो चितवन र हेटौडा हुने गरेको बताउदै मुख्यमन्त्री शाक्यले सो क्षेत्रमा रहेका सरकारी अस्पतालमा सेवा सुविधा थपेर काठमाडौंको विकल्प दिने अस्पताल बनाउन आफूहरु तयार रहेको बताउँदै छलफमा आउन सबैलाई आग्रह गरिन् ।

उनले चितवन र हेटौडाका अस्पतालको स्तर उन्नतिसहित मेसिनहरु थप्न सके काठमाडौंमा बिरामीको चाप कम हुने धारणा ब्यक्त गरिन् । बकुलहर रत्ननगर अस्पताललाई केन्द्रीय सरकारले अझै पनि पूर्ण रुपमा स्वामित्व हस्तान्तरण गर्ने कार्यको फाइल पूरा नभएको बताउदै सो पूरा भएमा प्रदेशले सम्पूर्ण जिम्मा लिने जिकिर गरिन् ।

अबको शिक्षा तथा स्वास्थ्य प्रणाली जनमुखी हुन आवश्यक रहेको बताउदै मुख्यमन्त्री शाक्यले जसरी शिक्षा र स्वास्थ्य क्षेत्रको बिकास हुनु पर्ने थियो त्यसरी हुन नसक्दा अभाव देखिएको बताइन् । उनले छिट्टै बागमती प्रदेशका १३ वटै जिल्लामा पीसीआर मेसिन र अक्सिजन प्लान्ट हस्तान्तरण गरिने बताइन् ।

बकुलहर रत्ननगर अस्पतालका मेसु बिश्वबन्धु बगालेले बि.सं. २०२४ सालमा बकुलहर हेल्थ पोष्टबाट सुरु भएको सो अस्पताल २०६४ सालमा १५ सैयाको रुपमा परिणत भएको र २०७७ सालमा शैद्धान्तिक रुपमा ५० सैयाको अस्पताल भनिएपनि हालसम्म पनि १५ सैयामानै चलिरहेको बताए ।

उनले सो अस्पतालमा हरेक दिन ६५० जनाले सेवा लिने गरेको बताउदै मनोरोग बाहेक सबै बिशेषज्ञ शेवा अस्पतालले दिइरहेको जानकारी दिए । बगालेले प्रदेशको अस्पतालको रुपमा सो अस्पताल रहेको भएपनि त्यो नाम मात्रको भएको जिकिर गरे । उनले प्रदेशबाट पीसीआर तथा अक्सिजन प्लान्ट प्राप्त हुदा प्रदेशको ध्यान बल्ल गएको होकी भन्ने महसुस भएको बताए ।

सो कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री बिजय सुवेदी, स्वास्थ्य मन्त्री प्रदीप कुमार कटुवाल, पूर्व राज्यमन्त्री शेसनाथ अधिकारी, पूर्व प्रदेश कृषी मन्त्री दावा लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV