५ आश्विन २०७८, मंगलवार

काठमाडौं । आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन/निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदनको मागसहित काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको वताएका थिए ।

प्रदर्शनमा विश्व शान्ति र मानव सभ्यताका लागि आणविक अस्त्र सबैभन्दा ठूलो खतरा भएको भन्दै आणविक अस्त्रधारी राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियालाई आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न आग्रह गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, दुर्गा राना, उमा गौतम, पूर्व सचिव बलबहादुर गाहा मगरसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।

यसैगरी शान्ति दिवसको अवसरमा असोज ५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै शान्ति समाजका चितवन, रुपन्देही, नवलपुर, महोत्तरी, बाँके, तेह्रथुम, अर्घाखाँची लगायत दर्जन बढी शाखाहरुले प्रदर्शन गरेका छन् ।

गत वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन २०७७ मंसिर २५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको मागसहित शान्ति समाजले काठमाण्डौ÷ललितपुरस्थित अमेरिका, रुस, चिन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाका राजदुतावास अगाडि एकसाथ प्रदर्शन गरेको थियो भने सोही दिन शान्ति समाजले ३२ जिल्लामा प्रदर्शन गरेको थियो ।

यसैगरी नेपालले यो सन्धिलाई शीघ्र अनुमोदन गर्न शान्ति समाजको प्रतिनिधिमण्डलले गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवा र ३ जना मन्त्रीहरु, सभामुख, राष्ट्रिय सभा अध्यक्षको ध्यानाकर्षण गराउँदै छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV