५ आश्विन २०७८, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लाको पर्यटकीय स्थलमध्येका पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्रिन सकेका छैनन् । बि.स. २०४० सालमा स्थापित पर्सा वन्यजन्तु आरक्षमा नेपालका रैथाने जंगली हात्ती, पाटेबाघ, एकसिंगे गैंडा, गौरी गाईलगायतका वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यसहित २०७४ साउन २८ गते शनिबार औपचारिक रुपमा पर्सा राष्ट्रिय निकुञ्ज घोषणा भएको चार वर्षभन्दा बढी वित्न लाग्दा पनि निकुञ्ज व्यवस्थापनको कमजोरी र प्रचार प्रसारको अभावका कारण पर्यटक भित्रिन नसकेका हुन् ।

बारा, पर्सा र मकवानपुर जिल्लामा फैलिएको ६२७.३९ वर्ग किलोमिटर क्षेत्रफल भएको यो निकुञ्जमा विशेष गरि पछिल्लो समयमा रैथाने हात्तीका साथै पाटेबाघका लागि उपयुक्त बासस्थानका रूपमा विकसित हुँदै आएको छ ।

निकुञ्ज वन्यजन्तु आरक्ष हुँदादेखि नै खास गरेर आन्तरिक पर्यटकहरु अवलोकन गर्दै आएकोमा यसलाई निकुञ्ज घोषणा गरेर अझै विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ निकुञ्ज घोषणा गरिएतापनि कोरोना महामारीको कारण विगत डेढ वर्षभन्दा बढीदेखि आन्तरिक पर्यटक समेत भित्रिन सकेका छैनन् ।

कोरोना संक्रमणका कारण विगत डेढ वर्षदेखि थला परेको निकुञ्जमा कोरोना संक्रमण न्यूनीकरण भई मुलुक पुरानै लयमा फर्किन थालेपनि निकुञ्ज भने पुरानो लयमा फर्किन सकेको छैन ।

विगतमा आउने गरेका आन्तरिक पर्यटकहरुमा पनि कमी आएको छ । बाह्य पर्यटक भित्र्याउन विभिन्न कसरत गर्दै आएको निकुञ्ज कारोना संक्रमणकालदेखि थला परेपश्चात हालसम्म उठ्न पाएको छैन ।

बेला बखत निकुञ्जले यस क्षेत्रमा देख्न पाइने जनावर, मनोरम दृष्यका बारेमा प्रचार–प्रसार गरेतापनि गत वर्षदेखि न त प्रचार प्रसार हुन पाएको छ, न त पर्यटकहरु नै भित्रिन सकेका छन् । बेला बखत सार्वजनिक विदाको दिन निकुञ्ज तथा वन्यजन्तु अवलोकन गर्न आन्तरिक पर्यटकहरु आउने गरेका छन् तर, निकुञ्जले भौतिक संरचनाहरु निर्माण गरिरहेकोले अन्यौलमा परी निकुञ्जको गेटबाटै पर्यटकहरुलाई फर्कने गरेका छन् ।

बारा, पर्सा तथा तराईका जिल्लाहरुसहित छिमेकी मुलुकका पर्यटकहरु रमाइलो गर्न निकुञ्जलमा पुगेपनि यसवर्ष कोरोना संक्रमणको कारण नेपाल–भारत सीमा बन्द रहेको अवस्थामा भारतीय पर्यटकहरुको आवागमन हुन सकेको छैन ।
निकुञ्जसँगै जोडिएको बारा जिल्लाको अमलेखगन्जस्थित हात्तीसार पनि पर्यटकहरुको लागि उत्तिकै आकर्षणको केन्द्र विन्दू हो । तराईका जिल्ला मात्र नभई छिमेकी मुलुक भारतको सहरबाट पनि हात्ती चढ्न पर्यटकहरु अमलेखगन्ज धाउने गरेका छन् ।

छुट्टी मनाउन पर्सा राष्ट्रिय निकुञ्जलगायत अमलेखगन्जस्थित हात्तीसारमा पनि व्यवस्थापनमा देखिएको कमी कमजोरीका कारण पर्यटन प्रवद्र्धन हुन सकेको छैन । हात्ती चढ्न भनेर टाढा टाढाबाट आएका आन्तरिक पर्यटकहरु निराश भएर फर्कनु पर्ने बाध्यता रहेको छ ।

निकुञ्जभित्र ६० देखि ६५ जङ्गली हात्ती, तीनदेखि पाँच गैँडा, १०५ गौरी गाई छन् । त्यस्तै ३७ स्तनधारी, ४९० चराचुरुङ्गी, ३१ प्रकारका पुतली तथा ३३६ प्रकारका वनस्पतिका प्रजाति छन् । वन्यजन्तुको वासस्थान, जैविक विविधता, प्रजाति, वनस्पति तथा सिमसारका दृष्टिकोणले यो निकुञ्ज विश्वकै उत्कृष्टमा पर्दछ ।

अरु निकुञ्जमा कमै देखिने जङ्गली कुकुर (ढोले) हुडार÷हड्डी बाघ, चौसिङ्गा, सालक, सुनगोहोरो, अजिङ्गर, राजधनेश यहाँका विशेषता मानिन्छ । पाटे बाघ, जङ्गली हात्ती, गैँडा तथा गौरी गाई यहाँका प्रमुख विशेषता हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV