५ आश्विन २०७८, मंगलवार

 काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन आज हुँदैछ । यसअघि गत भदाै १८ मा नै हुने भनिएकाे उक्त अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा राेकिएको थियाे । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते (मंगलबार) वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार मात्रै गरेको थियो ।

काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् । काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् । जिल्ला सभापति विकास लामाले काठमाडाैँका १०३ वडामा मंगलबार नै पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।

आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो । सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ ।

गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन । सो पार्टीले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाताका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV