४ आश्विन २०७८, सोमबार

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई मानपदवी नदिन सरकारलाई आग्रह गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै एशोसिएसनले न्यायपालिकालाई प्रभावित पार्नेगरी न्यायाधीशलाई मानपदवी दिँदा न्यायिक स्वतन्त्रमा आँच आउने भन्दै यसमा रोक लगाउन सरकारसमक्ष आग्रह गरेको छ ।

संविधान दिवसको अवसरमा सरकारले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई मानपदवी दिएको विषयमा चर्को आलोचना भइरहेका बेला सर्वोच्च बारले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाउन बाध्य भएको छ ।

विज्ञप्तिमार्फत् न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गर्न नहुनेमा अडिग रहेको पनि बारले स्पष्ट पारेको छ ।

बारका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बहालवाला न्यायाधीशहरुले सरकारको कुनै निकाय वा संस्थाबाट मानपदवी ग्रहण गर्दा हुने विभिन्न किसिमका टिकाटिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने, न्यायिक स्वतन्त्रताको मूल्य मान्यतामा आँच आउन सक्ने हुँदा त्यस प्रकारका मानपदवीहरु न्यायाधीशले ग्रहण गने वा नगर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV