४ आश्विन २०७८, सोमबार

भक्तपुर । बिद्यालय सञ्चालनबारे बिद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरु बीच सोमवार छलफल गरेको छ ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड १९ का कारण लामो समय देखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने विषयमा सोमबार अभिभावक तथा विद्यार्थीहरूका प्रतिनिधिबीच छलफल गरेको हो ।

उपमेयर जोशीले संक्रमणको जोखिम अध्ययन गर्दै नगरका विद्यालयहरू सञ्चालन गर्न शिक्षा एवम् स्वास्थ्यविद्हरुसँग छलफल कार्यक्रमहरुलाई अगाडि बढाइने बताउनुभयो । उहाँले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिएको पनि बताउनुभयो । उहाँले नगरभित्र कोभिड संक्रमितको संख्या क्रमशः कम हुँदै गएको तथ्यांक रहेको हुनाले विभिन्न सरोकारवालाहरूसँगको छलफल पश्चात सुरक्षित र व्यवस्थित ढंगले विद्यालय सञ्चालन गर्दै लगिने बताउनुभयो ।

उपप्रमुख जोशीले विद्यालय सञ्चालन गर्नुपूर्व जनप्रतिनिधि सहितको टोलीलाई अनुगमन क्रियाशील बनाइने र सम्पूर्ण विज्ञ, अभिभावक संघ, विद्यार्थी संघबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै सुरक्षित ढंगले स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गरिने बताउँनु भयो । उहाँले १८ वर्षमुनिका विद्यार्थीहरुलाई खोप उपलब्ध गराउन नगरपालिकाले आवश्यक पहल गरिने पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरमा कोभिड संक्रमणको जोखिम घट्दै गइरहेको अवस्थामा नगरपालिकाले सुरक्षित ढंगले विद्यालय सञ्चालन गर्ने तयारीलाई तीव्रता दिइरहेको बताउनुभयो ।

त्यस्तै अभिभावक संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले लामो समयसम्म शैक्षिक संस्थाहरू बन्द रहँदा विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा कमी आएको र अभिभावकलाई आर्थिक भार परेको बताउँदै विद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने र विद्यार्थीलाई खोप सुनिश्चितताको लागि नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै छलफल कार्यक्रममा नेक्राविसंघका संयोजक प्रकाश गुरुङले स–साना र कम विद्यार्थी भएका विद्यालयले भौतिक रुपमा तथा अन्यको हकमा आलोपारी गरी कक्षा सञ्चालन गर्नुपर्ने, कक्षा सञ्चालन नहुँदा प्रयोगात्मक कक्षाहरूमा बाधा पुगिरहेकोे र विद्यार्थीहरूको स्वास्थ्य बीमा र स्वास्थ्य उपचारमा नगरपालिकाले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा अभिभावकका प्रतिनिधिहरूले स्वीकृति विना भौतिक रुपमा कक्षा सञ्चालन गरेका विद्यालयको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने, स–साना कक्षाहरूमा अनलाइन कक्षा प्रभावकारी नभएको हुँदा भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्नेलगायतका धारणा राख्नुभयो ।

कार्यक्रममा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले विद्यालय सञ्चालनबारे नगरपालिकाले गरिरहेको तयारीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV